काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गाडी बेच्दा व्यापारीहरूले ५० प्रतिशत मार्जिन खाँदा पनि जायज हुने बताएका छन् ।
जर्नालिस्ट एसोसिएशन फर अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल) ले आज शुक्रबार भृकुटीमण्डपमा आयोजना गरेको ‘ग्रिन मोबिलिटी एण्ड इकोनोमी’ कार्यक्रको प्यानल डिस्कसनमा उनले फुल बिल काटेर अटोमोबाइल व्यवसायीहरूले ५० प्रतिशतसम्म मार्जिन खाँदा पनि जायज हुने बताएका हुन् । तर, एक सय रूपैयाँको सामान बेचेर ९० रूपैयाँको मात्रै बिल काट्नेहरू भने कारबाहीको भागीदार बन्नुपर्ने उनको भनाइ छ ।
मंगलबारदेखि भृकुटीमण्डपमा जारी नाडा अटो शोका अवसरमार आयोजित सो कार्यक्रममा उठेका सवालहरूमाथि सम्बोधन गर्दै उनले भने, ‘हामीलाई मार्जिन धेरै राखेर गाडी बेच्यो भन्ने आरोप लाग्ने गरेको छ । यस्ता विषयले हामी व्यवसायीहरूमाथि ‘चोर’को बिल्ला पनि भिराइने गरिएको छ, तर सबै व्यवसायीले गलत गरेका हुँदैनन् । गाडी बेच्दा व्यवसायीले ५० प्रतिशत पनि मार्जिन राख्न पाउँछन्, तर उसले फुल बिल काटेको हुनुप¥यो । एक सय रूपैयाँमा सामान बेच्ने अनि बिलचाहिँ ९० रूपैयाँको बनाउनेहरू दण्डको भागीदार बन्नैपर्छ ।’ तर, अहिलेको प्रतिस्पर्धी बजारमा हल्ला चलाइएजस्तो मार्जिन राखेर काम गर्न सकिने अवस्थै नरहेको उनको भनाइ छ ।
यस्तै, उनले अटोमोबाइल व्यवसायीहरूले गाडी बेच्ने मात्र नभइ ‘आफ्टर सेल्स सर्भिस’ पनि दिँदै आएको उनले बताए । डिजेल तथा पेट्रोल गाडी बेच्दा पनि आफूहरूले राम्रो सर्भिस दिएको स्मरण गराउँदै उनले ईभीको बिक्री पनि पनि उपभोक्तालाई समस्या नपार्नेगरी ‘आफ्टर सेल्स सर्भिस’ दिने प्रतिबद्धता व्यक्त गरे । गाडी भित्र्याउनेवित्तिकै सबै ठाउँमा सर्भिस सेन्टर सञ्चालन गर्न नसकिने बताउँदै उनले क्रमशः विकास गरिँदै लगिने प्रतिबद्धता व्यक्त गरे ।
‘मैले बेच्दै आएको फोर्ड गाडी नेपाल आउन बन्द भएको तीन वर्ष भयो । बन्द हुँदा मान्छेहरूले भन्ने अब यसले सर्भिस दिँदैन, तर अहिले पनि हामी सर्भिस दिइरहेका छौँ । हामी लामो समय व्यापार गर्न आएकाहरूबाट उपभोक्ता चिढ्याउने काम हुँदैन,’ उनले भने ।
नेपालमा अहिले जसले ईभीको डिलरशीप लिएका छन् ती सबै स्थापित व्यवसायीहरू भएको चर्चा गर्दै गोल्छाले जसले राम्रो सर्भिस दिनसक्छ उसको गाडी बिक्री हुने र सर्भिस दिन नसक्नेको गाडी नबिक्ने पनि स्ष्ट पारे । त्यसो हुँदा ‘आफ्टर सेल्स सर्भिस’मा व्यापारीबीच प्रतिस्पर्धा रहेकाले उपभोक्तालाई फाइदैफाइदा हुने उनको दाबी थियो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका यातायात व्यवस्था शाखाका सइडीई सुरेश श्रेष्ठ, नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक आशीष गजुरेल, नेपाल विद्युत् प्राधिकरणका चार्जिङ नेटवर्क संयोजक सागरमणि ज्ञवाली, वातावरणविद् भुषण तुलाधरले आ–आफ्नो विषयसँग सम्बन्धित रहेर विभिन्न जानकारी दिनाका साथै कार्यक्रममा उठेका सवालहरूको जवाफ समेत दिएका थिए । यस्तै, जर्नालिस्ट एसोसिएशन फर अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल)का पूर्वध्यक्ष उज्वल जंग शाहले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।
सहभागीहरूले नेपालमा ईलेक्ट्रिक भेहिकलको बढ्दो आयातसँगै त्यसले सृजना गर्ने चुनौतीहरूका बारेमा चिन्ता व्यक्त गरेका थिए । ईभीलाई अनुगमन र निरीक्षण गर्ने कुनै खास कानुन नै नभएकोमा सहभागीहरूले चिन्ता प्रकट गरेका थिए । सरकारले विद्युतीय सवारी साधनको मापदण्ड तय गर्ने काममा ढिलाई गरिरहेको र त्यसले जोखिमहरू बढाएको उनीहरूको भनाइ थियो ।
हेर्नुहोस् भिडिओ–
यो पनि पढ्नुहोस्–
‘केइ एक्स–थ्री प्रो’ नाडा अटो शोको आकर्षण हो, प्युजो र सेट्रोनले रोमाञ्चकता बढाउँछ (भिडिओ)
FACEBOOK COMMENTS