काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले संविधानले दिएको अधिकारको रक्षा गर्नबाट राज्य चुक्न नहुने बताएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दुरुपयोग अभियोगमा पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै संघले नागरिकता जस्तो संवेदनशील विषयमा राज्यले छानबिन गर्नुपर्छ तर छानबिन गर्दा नियम र कानुनको परिधि तथा संविधानले दिएको अधिकारको रक्षा गर्नबाट राज्य चुक्न नहुने बताएको हो ।
‘कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति नेपाल विज्ञापन संघ (आन) को गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्ष सिरोहियाले आफ्नो नागरिकता विषयको न्यायिक छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिरहेको अवस्थामा देशको सबैभन्दा ठूलो सञ्चारगृहको अध्यक्षलाई कार्यकक्षमै पुगेर पक्राउ गर्नुले अनेक प्रश्न खडा गरेको छ,’ विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘नागरिकता जस्तो संवेदनशील विषयमा राज्यले छानबिन गर्नुपर्छ तर छानबिन गर्दा नियम र कानुनको परिधि तथा संविधानले दिएको अधिकारको रक्षा गर्न राज्य चुक्नु हुँदैन ।’
यो घटनामा राज्यले आफ्नो दायरा बिर्सेको र चुकेको अनुभव संघले गरेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ । ‘सञ्चार क्षेत्रको प्रतिष्ठित व्यक्तिमाथि प्रतिशोध साँधेर यस किसिमले पक्राउ गरिएको आशंका भएको छ । आनले अध्यक्ष सिरोहियाको यस प्रकारको पक्राउप्रति दुःख व्यक्त गर्दै कानुनको पालना गर्न राज्यको ध्यानाकर्षण गराउँछ । साथै, आनले सञ्चार क्षेत्रमा हुने कुनै पनि किसिमका हस्तक्षेप अस्वीकार्य हुने स्पष्ट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
FACEBOOK COMMENTS