जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
सर्वोच्च अदालतको आदेशसँगै उनी पक्राउ परेका हुन् । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । गत मंसिर २० गते सर्वोच्च अदालतले आरती साहका पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोककी आरती साहको शव गत ७ जेठमा घरमै झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको माइती पक्षले छोरीको हत्या भएको भन्दै पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीविरुद्ध जाहेरी दिएका थिए ।
त्यसपछि जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर १८ असोजमा उच्च अदालत जनकपुरले पति र ससुरा दुबै जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि आरतीको माइतीपक्षले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले पतिलाई थुनामा पठाउन र ससुरालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
माइती पक्षले आरतीको दाइजोको कारण श्रीमान् र ससुराले हत्या गरेको आरोप लगाउँदै आएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।
धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए ।
FACEBOOK COMMENTS