काठमाडौँ । परापूर्वक कालमा अन्य चिकित्साको माध्यम नहुँदा मानिसहरु पूर्ण रुपमा आयुर्वेद चिकित्सामा निर्भर हुने गर्दथे ।
विस्तारै आधुनिक समाजको निर्माण हुँदै जाँदा चिकित्सा प्रणालीमा समेत परिवर्तन हुँदै गयो । सोहीअनुरुप आज मानिसहरु आधुनिक चिकित्सा प्रणालीमा निर्भर हुन थालेपनि आयुर्वेद चिकित्सामा समेत मानिसहरुको केही आकर्षण बढ्न थालेको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, काठमाडौँको तथ्यांकअनुसार कुनै समय आयुर्वेद उपचारमा मानिसहरुको संख्या शून्य रहेपनि हाल बिरामीको संख्या बढ्दै जान थालेको छ । हाल स्वास्थ्य केन्द्रबाट दैनिक ३५ देखि ६० जनाले सेवा लिने गरेका छन् ।
सुरुमा मानिसहरुलाई आयुर्वेदिक स्वास्थ्य केन्द्र पनि छ, त्यहाँ पनि बिरामी जाँचिन्छ भन्ने ज्ञान नभएकै कारण सेवाग्राहीको संख्या शून्य रहेको केन्द्रकी प्रमुख डा पुनम नेपालले बताइन् । हाल केन्द्रहरुको विस्तार बढ्दै गएकाले पनि समुदायमा आयुर्वेदिक चिकित्साको विस्तार हुन सकेको उनले बताइन् । केन्द्रले सोहीअनुरुप प्रचारप्रसारको काम पनि गर्दै आएको समेत उनको दाबी छ । “अहिले आम समुदायमा आयुर्वेद चिकित्साप्रतिको ज्ञान पनि बढ्दै गएको छ”, उनी थप्छिन्, “हामीले हाल सेवाग्राहीहरु बढिरहेको अनुभव पनि गरिरहेका छौँ ।”
के हो आयुर्वेद चिकित्सा ?
सामान्य अर्थमा चिकित्सा भन्नेबित्तिकै कुनै पनि रोगको निदान गरी उपचार गर्नुलाई मान्छौं । तर आयुर्वेद चिकित्सामा रोगको निदान गरी उपचार गर्ने प्रणाली मात्र छैन । यसमा रोगको उपचार सँगसँगै मनोपरामर्श दिने र दैनिक जीवन कसरी सञ्चालन गर्ने भन्ने पनि सिकाइन्छ ।
स्वास्थ रहनका लागि छुट्टै योग, रोग निको पार्नका लागि छुट्टै योग पनि आयुर्वेद चिकित्साअन्तर्गत पर्ने गर्दछन् । हाल सञ्चालनमा आइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रले अकुपन्चर, फिजियोथेरापी, प्रयोगशाला लगायतका सेवाहरु दिँदै आएको छ भने अन्य सेवाहरु पनि विस्तार हुने क्रममा छन् । दिनप्रतिदिन सेवाको गुणस्तर समेत बढ्दै गइरहेको छ । हाल नेपाल सरकारले आयुर्वेद चिकित्साअन्तर्गत २३ वटा औषधिहरु समेत निःशूल्क रुपमा उपलब्ध गराउँदै आएको छ । त्यो बाहेक अन्य औषधिहरु आवश्यक परेमा स्वास्थ्य केन्द्रले सर्वसुलभ रुपमा केन्द्रको हाताभित्रै किन्ने व्यवस्था पनि गरेको छ ।
के छन् हालका समस्या ?
हाल स्वास्थ्य केन्द्रमा ओपिडि सेवा मात्र सञ्चालन हुँदै आएको छ । हालसम्म हालसम्म स्वास्थ्य केन्द्रमा बिरामीलाई भर्ना गरेर उपचार गर्नका निम्ति भौतिक पूर्वाधार नै नभएको केन्द्रकी प्रमुख डा पुनम नेपाल बताउँछिन् ।
त्यसको लागि स्वास्थ्य केन्द्रलाई आफ्नै भवनको आवश्यकता रहेको उनले जिकिर गरिन् । उनी भन्छिन्, “हामीसँग पर्याप्त सम्भावना हुँदाहुँदै पनि भौतिक पूर्वाधारको अभावकै कारण सेवाको विस्तार गर्न सकेका छैनौँ ।”
हाल देशभरका ७७ वटै जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन् । ती केन्द्रहरुमध्ये कतिपय आफ्नै स्वामित्वको जग्गामा सञ्चालनमा छन् भने कतिपय भाडामा सञ्चालनरत छन् । आफ्नै जग्गा भएका केन्द्रमा पनि पर्याप्त क्षेत्र नहुँदा कुनै पनि जिल्लामा बिरामी भर्ना गरेर स्वास्थ्य सेवा दिन नसकेको डा नेपालले दुखेसो पोखिन् ।
आफूहरुको ठूलो चुनौतीको विषय नै जग्गा प्राप्ति रहेको पनि उनले बताइन् । जग्गा प्राप्त भएमा त्यहाँ अस्पतालका रुपमा सञ्चालन गरेर सेवा विस्तार गर्ने योजना भएपनि त्यो पुरा हुन नसकेको उनको दाबी छ ।
के छ आधुनिक चिकित्सा र आयुर्वेदिक चिकित्साबीच भिन्नता ?
अहिले आयुर्वेदिक चिकित्सालाई वैकल्पिक चिकित्साको रुपमा पनि लिने गरिन्छ । आयुर्वेद सँगसँगै होमियोपेथी, प्राकृतिक चिकित्सा, युनानी पनि अहिले वैकल्पिक चिकित्सा अन्तर्गत पर्ने गर्छन् । ती अलगअलग विधा रहेको डा पाण्डेले बताइन् ।
आयुर्वेदिक चिकित्सा र आधुनिक चिकित्सामा रोग पत्ता लगाउने विधि मात्र फरक रहेको नेपालको भनाइ छ । यसमा उपचार गर्ने तरिका समेत फरक हुने गरेको उनले बताइन् । दुई अलगअलग विधाका रोग निदान गर्ने विधि र उपचार गर्ने विधि फरक हुने उनको दावी छ ।
उनका अनुसार आयुर्वेदिक चिकित्सामा बिरामीको लक्षणअनुरुप रोगको निदान गरिन्छ । त्यो बाहेक हाल स्वास्थ्य केन्द्रले प्रयोगशाला पनि सञ्चालन गरेको उनले बताइन् ।
FACEBOOK COMMENTS