आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट नौ हजारले सेवा लिए
कर्पोरट खबर
7:08 am, बिहीबार, फाल्गुन ८, २०८१
मकवानपुर । हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिनुभयो । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन्भने चार हजार ७७५ जना महिला रहेका छन् ।
चिकित्सालयमा गत आर्थिक वर्ष २०८०÷८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताउनुभयो । उहाँका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गर्नाका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ ।
यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपञ्चर सेवा र शल्य सेवा उपलब्ध रहेको चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहले जानकारी दिनुभयो । औषधालयले केही समयमा नै हेटौँडा–२ स्थित नयाँ भवनबाट सेवा प्रदान गर्ने र थप सेवा विस्तार गरिने शाहले बताउनुभयो ।
पछिल्लो समय आयुर्वेदिक सेवाप्रति आममानिसमा विश्वास बढ्दै गएको छ ।
FACEBOOK COMMENTS