काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनताको स्वास्थ्यमाथि चरम खेलबाड गर्दै आएको पाइएको छ ।
आफ्नो गोदाममा रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएकाले कम्पनी जनताको स्वास्थ्यमाथि कति गम्भीर छ भन्ने स्वतः प्रस्ट हुन्छ । खाद्य कम्पनीले कर्णालीका दुर्गम जिल्लामा पठाउने उद्देश्यसहित सो चामल सुर्खेत पठाएको हो ।
खाद्य कम्पनीले सुर्खेतमा बिक्रीका लागि पठाएको कुहिएको त्यही चामल हो, जसलाई खाद्य प्रविधि विभागको अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाले खानयोग्य नभएको भनेर यसअघि नै पुष्टि गरिसकेको थियो । सो चामलको १० वटा नमुना परीक्षणपछि विभाग सो निष्कर्षमा पुगेको थियो ।
४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको ४ सय ८७ मेट्रिक टन बास्मती चामल कुहाउने कर्मचारीलाई कारबाही गर्नुको साटो सो कम्पनीले चामल नै कर्णाली प्रदेशका लागि पठाएको हो । खाद्य कम्पनीको थापाथलीस्थित चामल गोदाम कर्मचारीको चरम लापर्बाहीले गोदाम नम्बर २४ र ३० मा रहेको बास्मती चामल कुहिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीका गोदाममा रहेको बास्मती चामलमा कीरा परेर धुलोधुलो भइसकेको हुँदा खान योग्य नभएको पुष्टि गरी नष्ट गर्ने निर्देशन दिएको थियो । चामल नष्ट गर्दा कुहाउने कर्मचारीले ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएकाले कम्पनीका कर्मचारी मिलेर कुहिएको चामलमा राम्रो बास्मती मिसाएर मिक्स गरेर दुर्गम जिल्लाका उपभोक्तालाई बिक्री गर्न कम्पनीको प्रादेशिक कार्यालय सुर्खेत पठाएको स्रोतले जानकारी दिएको छ ।
खाद्य प्रविधि विभागले गोदाममा कुहिएको चामल खानयोग्य नभएको भन्दै नष्ट गर्नुपर्ने भनेपछि कम्पनीले ‘रि पोलिसिङ’ गरी सुर्खेत जिल्लामा पठाएको हो । स्रोतको अनुसार ७५ किलो नयाँ बास्मती र २५ किलो कुहिएको बास्मती मिसाएर सय किलो बनाएर बिक्रीका लागि सुर्खेत पठाइएको हो ।
खाद्य कम्पनीको बिक्री वितरण शाखा प्रमुख भीम थापा, प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दलगायतका विभागीय प्रमुुखको मिलेमतोमा यो काम गरिएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS