अबुधाबी । नेपाली दूतावास अबुधाबीले संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी सार्वजनिक गरेको छ।
शुक्रबार अबुधाबीको अब्जान क्षेत्रमा भएको दुर्घटनामा ७ जना नेपाली घाइते भएका थिए। दूतावासका अनुसार घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने १ जनाको अवस्था सुधारउन्मुख रहेको अस्पताललाई उद्धृत गर्दै जनाएको छ।
घाइते नागरिकहरू आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेकाले उनीहरूको व्यक्तिगत विवरण सार्वजनिक नगरिएको दूतावासले जनाएको छ।
दूतावासले सबै घाइतेसँग टेलिफोनमार्फत सम्पर्क गर्नुका साथै ४ जनासँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्थाबारे जानकारी लिएको ।
आवश्यक सहयोग तथा समन्वयका लागि दूतावास निरन्तर सक्रिय रहेको र उपचार व्यवस्थापनमा सहजीकरण गरिरहेको उल्लेख गरिएको छ। साथै, संयुक्त अरब इमिरेट्स सरकारले आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराएको पनि जनाइएको छ।

