काठमाडौं । भारतमा विद्युत् बचाउन केन्द्र सरकारले नयाँ उपाय निकालेको छ ।
केन्द्र सरकारले एसीलाई २० देखि २८ डिग्रीको बीचमा मात्र चलाउन पाउने गरि नयाँ नियम लागू गर्ने तयारी गरेको भारतीय मिडियाहरूले चर्चा गरेका छन् । केन्द्र सरकारले चाँडै गर्मी मौसममा एसीबाट हुने बिजुलीको खपत रोक्न नयाँ नियम ल्याउन लागेको हो ।
सरकारले दायसले बिजुली बचत गर्ने, बिल घट्ने र देशभरका लाखौं उपभोक्ताहरूले आगामी तीन वर्षमा २० हजार करोड भारु बचत हुने दाबी गरेको रिपोर्टमा उल्लेख छ ।
भारतीय ऊर्जामन्त्री मनोहर लाल खट्टरले यस नियमका बारेमा भनेका छन्, ‘एसी उत्पादन गर्ने कम्पनीहरूको लागि नयाँ नियमले चिसोपनलाई अझ राम्रो बनाउनेछ । यसले गर्मी बढ्दै जाँदा बिजुलीको माग र बिलमा वृद्धि घटाउन मद्दत गर्नेछ । नयाँ नियम लागू हुने बित्तिकै, यी नियमहरू हरेक क्षेत्रमा प्रयोग हुने एयर–कन्डिसनरहरूमा लागू हुनेछन्, चाहे त्यो घरमा होस् वा कार्यालय, मल, होटल र सिनेमाघर जस्ता व्यावसायिक स्थानहरूमा, जहाँ एसी प्राय: सबैभन्दा कम सेटिङमा चलाइन्छ ।’
गर्मीमा वृद्धिसँगै, बिजुलीको माग धेरै बढ्दै गएको अवस्थालाई ध्यान दिदै सरकारले यो नियम लागुगर्ने तयारी गरेको बताइएको छ । यस वर्ष जुन महिनाको एक दिनमा भारतमा, एकै दिनमा बिजुलीको माग २४१ गिगावाट पुगेको थियो, जुन यस वर्षको सबैभन्दा उच्च थियो । सरकारले उच्चतम माग २७० गिगावाटसम्म जान सक्ने अनुमान गरेको छ ।
एसीले १६–१८ डिग्रीमा चलाउदा धेरै विद्युत खपत गर्ने गर्दछ । नयाँ नियम बिजुली बचत गर्ने र पावर ग्रिडमा दबाब कम गर्ने प्रयास हो । साथै, यसले मानिसहरूको बिजुलीको बिल घटाउनेछ र वातावरणलाई पनि फाइदा पुर्याउनेछ । तापक्रममा प्रत्येक १ डिग्री वृद्धिले ६ प्रतिशतसम्म बिजुली बचत गर्ने दाबी गरिएको छ ।
क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययन अनुसार, एसीको तापक्रमलाई मानकीकरण गर्नाले २०३५ सम्ममा भारतको उच्चतम बिजुलीको माग ६० गिगावाटले घटाउन सकिन्छ । यसले बिजुली र ग्रिड पूर्वाधार लागतमा ७.५ लाख करोड भारु बचत गर्नेछ । कम बिजुली खपतले बिल पनि घटाउनेछ ।
यो नियम लागू हुने मिति आधिकारिक रूपमा घोषणा गरिएको छैन । केन्द्रीय मन्त्री मनोहरलाल खट्टरले यो नियम चाँडै लागू हुने बताएका छन् । सरकारले तापक्रम मापदण्डहरू निर्धारण गर्न एसी उत्पादन गर्ने कम्पनीहरूसँग काम गरिरहेको बताइएको छ । नियमहरू अधिसूचित हुने बित्तिकै, सबै नयाँ एसीहरू यस दायरामा बनाइनेछन् ।
यो नियम पुराना एसीमा लागू हुन्छ कि हुँदैन भन्ने कुरा अझै स्पष्ट छैन । तर, नयाँ नियम अन्तर्गत, भविष्यका एसीमा प्रविधि यस्तो हुनेछ कि तिनीहरू २० डिग्रीभन्दा कम चिसो बनाउन सकिने छैन । पुराना एसीहरूले सफ्टवेयर अपडेट गर्नुपर्ने वा प्राविधिक परिवर्तनहरू गर्नुपर्ने हुन सक्छ, तर यो अझै स्पष्ट नभएको बताइएको छ ।
इटाली, जापान जस्ता देशहरूमा पनि सार्वजनिक भवनहरूको लागि एसीहरूलाई न्यूनतम २३ डिग्री सेल्सियसमा राख्ने नियम छ । २७ डिग्री सेल्सियसभन्दा बढी अधिकतम तापक्रममा प्रयोग गर्न प्रतिबन्ध छ ।
हाल, भारतमा कुनै पनि सरकारी नियमले एसीहरूलाई विशेष तापक्रम (जस्तै २० डिग्री वा सोभन्दा माथि) मा सेट गर्न निषेध गर्दैन ।
सरकार र ऊर्जा दक्षता ब्यूरोले एसीहरू २४ डिग्री सेल्सियसमा चलाउन सुझाव दिएको छ, किनकि यसले बिजुली बचत गर्छ र वातावरणको लागि पनि राम्रो हुन्छ । तर यो केवल एउटा सुझाव हो, कानुनी दायित्व होइन ।
FACEBOOK COMMENTS