काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ ।
अजमानस्थित करवान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयोजक यूएई ४५.५ ओभरमा १४७ रनमा अलआउट भयो । जसमा अहमद खुदादादले सर्वाधिक ७१ रन जोडे ।
नेपालका दयानन्द मण्डलले ६, अपराजित पौडलले दुई, कप्तान अशोक धामी र नितेसकुमार पटेलले एक/एक विकेट लिए । नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ ।
सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् ।
प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदै छ । रासस

FACEBOOK COMMENTS