दैलेख । पेट्रोलियम अन्वेषणको उपकरण बोकेको ट्रक दुर्घटनामा परेको छ ।
दुल्लु नगरपालिका–३ पालीमा उपकरण ढुवानी गर्ने क्रममा ट्रक दुर्घटनामा परेको हो ।
नेपालगञ्जबाट भैरवी गाउँपालिकाको जलजलेस्थित आयोजनास्थलमा उपकरण ढुवानी गर्ने क्रममा मप०३००१ख ७८१७ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
चिनियाँ सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालबाहक ट्रक अन्वेषणस्थलमा पुगिसकेका छन् ।
विसं २०७२ चैतमा नेपाल र चीनबीच पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । सोही बमोजिम २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत भई २०७६ सालदेखि प्रारम्भिक सर्वेक्षण सुरू भएको थियो ।
हाल जलजलेमा ४५ रोपनी जग्गा अधिग्रण गरी ड्रिलिङको तयारी गरिएको छ ।
FACEBOOK COMMENTS