ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुई जना घाइतेको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बोलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१०, सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
त्यस्तै, घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उनका १० वर्षीय छोरा भविमय आचार्य छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान करिब ५:०० बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बोलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
FACEBOOK COMMENTS