काठमाडौं । नेपालजस्तो भौगोलिक विविधता भएको देशमा सडक दुर्घटना कुनै नौलो विषय होइन । प्रत्येक दिन औसतमा २ हजार ४ सय वटा सवारी दुर्घटना हुने गरेको छ भने दुर्घटनामा औसत दैनिक ३ हजार ५ सय सवारीसाधनको संलग्नता वा क्षति हुने गरेको छ ।
नेपालमा हुने दुर्घटनाबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ हजार २८९ जनाको मृत्यु भइसकेको छ, जसबाट दैनिक औसतमा ७ जनाले सडक वा सवारी दुर्घटनामा ज्यान गुमाइरहेको देखिन्छ ।
प्रहरीको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म कुल २५ हजार ७७१ स्थानमा सवारी दुर्घटना हुँदा ३८ हजार ७७४ वटा सवारीसाधनको संलग्नता पाइएको छ वा जोडिएका छन् । जेठ मसान्तसम्मको दुर्घटनामा सबैभन्दा बढी २२ हजार ६४० वटा दुर्घटना मोटरसाइकलबाट भएका छन् । ती सबै दुर्घटनामा गरी २ हजार २८९ जनाको मृत्यु भएको भने ६ हजार ३८१ जना गम्भीर घाइते र ३३ हजार ७५६ जना सामान्य घाइते भएका छन् ।
बागमती प्रदेशमा बढी दुर्घटना, त्यसपछि मधेस
प्रदेशगत तथ्याङ्क हेर्ने हो भने बागमती प्रदेशमा सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ । बागमती प्रदेशको काठमाडौं उपत्यकामा मात्रै ६ हजार ४१२ वटा सवारी दुर्घटना घटना भएका छन् भने उपत्यकाबाहेकका अन्य जिल्लाहरूमा २ हजार २३८ वटा सवारी दुर्घटना गरी बागमती प्रदेशमा कुल ८ हजार ६५० वटा सवारी दुर्घटना भएका छन्, जहाँ ४३० जनाले चालु आर्थिक वर्षको ११ महिनामा ज्यान गुमाएका छन् ।
बागमतीपछि मधेस प्रदेशमा ६ हजार ७१० वटा सवारी दुर्घटनाका घटना भएका छन्, जहाँ ५०२ जनाले ज्यान गुमाएका छन् ।
बढी दुर्घटना मोटरसाइकलमा, कम दुर्घटना माइक्रोमा
प्रहरीको तथ्याङ्कअनुसार कुल सवारी दुर्घटनाको ५८ प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकलसँग सम्बन्धित छन् । चालु आर्थिक वर्षको ११ महिनामा कुल ३८ हजार ७७४ वटा सवारीसाधन दुर्घटनामा पर्दा २२ हजार ६४० वटा सवारीसाधन मोटरसाइकल वा स्कुटर छन्, जुन कुल दुर्घटनामा परेका सवारीसाधनको ५८ दशमलव ३८ प्रतिशत हो ।
मोटरसाइकलपछि बढी दुर्घटनामा पर्ने सवारीसाधनमा कार र जीप छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३८ हजार ७७४ वटा सवारीसाधन दुर्घटनामा पर्दा ५ हजार ९०७ थान सवारीसाधन कार वा जीप छन्, जुन कुल सवारीसाधन दुर्घटनाको १५ दशमलव २३ प्रतिशत हो ।
ट्याम्पोको दुर्घटना पनि बढी
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्क हेर्दा दुर्घटनामा पर्ने सवारीसाधनको तेस्रो सूचीमा सार्वजनिक सवारीसाधनको रूपमा रहेको ट्याम्पो छ । चालु आवको ११ महिनामा भएका कुल दुर्घटनामध्ये २ हजार २२६ वटा सवारीसाधन ट्याम्पो छन्, जुन कुल दुर्घटनाको ५ दशमलव ७४ प्रतिशत हो ।
शारीरिक शक्तिले चल्ने सवारी दुर्घटना चौथो नम्बरमा
सवारीसाधन दुर्घटनाको तथ्याङ्क केलाउँदा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भएका कुल दुर्घटनामध्ये शारीरिक शक्तिले चल्ने साइकल, रिक्सा, ठेला जस्ता सवारीसाधन दुर्घटना चौथो नम्बरमा रहेको पाइएको छ । कुल दुर्घटनामध्ये २ हजार १३० वटा सवारीसाधन शारीरिक शक्तिबाट चल्ने अर्थात् साइकल, रिक्सा, ठेला आदि छन्, जुन कुल दुर्घटनाको ५ दशमलव ४९ प्रतिशत हो ।
बस पाँचौँ नम्बरमा
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भएका दुर्घटनामध्ये सार्वजनिक सवारीको रूपमा रहेको बस दुर्घटना पाँचौँ नम्बरमा छ । ११ महिनाको अवधिमा १ हजार ७८६ वटा दुर्घटना बससँग सम्बन्धित छन्, जुन कुल दुर्घटनाको ४ दशमलव ६० प्रतिशत हो ।
छैटौँ ट्रक र ट्याङ्कर
१० वटा श्रेणीमा विभाजन गरिएको सवारीसाधनको किसिमअनुसार दुर्घटनाको छैटौँ नम्बरमा ट्रक तथा ट्याङ्कर छन् । ११ महिनाको अवधिमा ट्रक र ट्याङ्कर गरी १ हजार ५५९ वटा दुर्घटनामा परेका छन्, जुन कुल दुर्घटनाको ४ दशमलव शून्य दुई प्रतिशत हो ।
ट्र्याक्टर सातौँ नम्बरमा
चालु आर्थिक वर्षको ११ महिनामा भएका दुर्घटनामध्ये १० किसिमका सवारीसाधनमा ट्र्याक्टर सातौँ नम्बरमा बढी दुर्घटनामा पर्ने सवारीसाधनका रूपमा रहेको पाइएको छ । ११ महिनाको अवधिमा १ हजार ४४ वटा ट्र्याक्टर दुर्घटनामा परेका छन् जुन कुल ३८ हजार ७७४ सवारीसाधन दुर्घटनाको २ दशमलव ६९ प्रतिशत हो ।
आठौँ नम्बरमा माइक्रो
चालु आर्थिक वर्षको ११ महिनाको तथ्याङ्क केलाउँदा नेपालभर भएका १० वटा किसिमका सवारीसाधन दुर्घटनामध्ये आठौँ नम्बरमा माइक्रो बस वा भ्यान परेको छ । कुल ३८ हजार ७७४ वटा सवारीसाधन दुर्घटना हुँदा यात्रु बोक्ने माइक्रोको सङ्ख्या ५९८ थान छ, जुन कुल सवारीसाधन दुर्घटनाको केवल १ दशमलव ५४ प्रतिशत मात्रै हो ।
यात्रु बोक्ने सवारीसाधन अर्थात् प्यासेन्जर भेइकल दुर्घटनाको तथ्याङ्क केलाउँदा कार, जीप, ट्याम्पो र बसभन्दा माइक्रो बस वा भ्यान सुरक्षित रहेको पाइएको छ ।
नवौँ नम्बरमा ट्रिपर
चालु आर्थिक वर्षको ११ महिनाको दुर्घटनाको तथ्याङ्क केलाउँदा नवौँ नम्बरमा दुर्घटनामा पर्ने सवारीसाधनमा ट्रिपर रहेको पाइएको छ । मुख्यतः बालुवा र गिट्टी बोक्ने ट्रिपर दुर्घटना पहिले बढी हुने गरेकामा अहिले त्यसमा कमी आएको पाइएको छ । ११ महिनाको अवधिमा कुल ५६२ वटा ट्रिपर दुर्घटना भएका छन्, जुन कुल दुर्घटनाको १ दशमलव ४४ प्रतिशत हो ।
दशौँ नम्बरमा डोजर, लोडर र एक्स्काभेटर
देशभर भएका सवारीसाधन दुर्घटनाको तथ्याङ्क हेर्दा सबैभन्दा कम दुर्घटनामा पर्ने सवारीसाधनमा डोजर, लोडर र एक्स्काभेटर रहेको पाइएको छ । चालु आर्थिक वर्षमा ७४ वटा यस्ता सवारीसाधन दुर्घटना भएको पाइएको छ । यी सवारीसाधनको सङ्ख्या पनि कम नै हुने भएकाले यी सवारीसाधनको दुर्घटनाको सङ्ख्या पनि कम नै रहेको पाइएको हो ।
उपत्यकामा ६ हजार ४१० दुर्घटना
चालु आर्थिक वर्षको असार २० गतेसम्मको तथ्याङ्क हेर्दा काठमाडौं उपत्यकामा कुल ६ हजार ४१० वटा सवारीसाधन दुर्घटनामा परेका छन् । यी दुर्घटनाहरूमा २६ जनाले ज्यान गुमाएका छन् भने ६७६ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा मृत्यु हुनेहरूमा १७ जना पैदलयात्री छन् ।
उपत्यकामा ईभी गाडीको दुर्घटना ३ प्रतिशतभन्दा कम
काठमाडौं उपत्यकामा भएका दुर्घटनाहरूको तथ्याङ्क केलाउँदा इलेक्ट्रिक भेइकल अर्थात् ईभी गाडीहरूको दुर्घटना केवल २ दशमलव ९० प्रतिशत छ । उपत्यकामा कुल ६ हजार ४१० वटा सवारीसाधन दुर्घटनामा पर्दा १८६ वटा ईभी गाडीहरू दुर्घटनामा परेको पाइएको छ । ईभी गाडीहरूमा पनि धेरैजसो ईभी कार दुर्घटनामा परेको छ भने ईभी भ्यान वा माइक्रो दुर्घटनाको सङ्ख्या नगन्य मात्रामा छ ।
दुर्घटना अन्य सवारीसाधनको, दोषजति ईभीलाई !
पछिल्लो समय भएका सार्वजनिक सवारीसाधन दुर्घटनामा सबैभन्दा बढी दुर्घटना ट्याम्पोको भएको छ । ट्याम्पोपछि बस दुर्घटना बढी छ भने त्यसपछि मात्रै माइक्रोको दुर्घटना बढी भएको तथ्याङ्कले देखाएको छ । माइक्रोको दुर्घटना हुँदा पनि अधिकांश दुर्घटना इन्धनबाट चल्ने सवारीसाधनबाट भएको पाइन्छ ।
तर, सामाजिक सञ्जालमा भने ईभी अर्थात् इलेक्ट्रिक माइक्रो र भ्यानको कारण दुर्घटना बढेको भन्दै प्रचारबाजी गरेको पाइन्छ । सामाजिक सञ्जालमा नियोजित रूपमा ईभी सवारीसाधन दुर्घटनाका फोटो तथा भिडिओ मात्रै पोष्ट गर्ने तथा शेयर र स्पोन्सर गरेर बुष्टसमेत गर्ने गरिएको पाइएको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ता रेशम लामा, परदेशमा काम गर्ने हामी नेपाली, ईभान रोबिन लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ईभी गाडीका सम्बन्धमा नकारात्मक सामाग्री प्रसारण गरिरहेको पाइएको छ । रेशम लामा नाम गरेका सामाजिक सञ्जाल प्रयोगकर्ताले त टोयोटाको हाइस दुर्घटना हुँदा पनि ईभी गाडी भन्दै पोष्ट गर्ने गरेका छन् ।
पछिल्लो समय प्यासेन्जर भेइकलका रूपमा इन्धनबाट चल्नेभन्दा विद्युतीय सवारीसाधन, माइक्रो वा भ्यानको माग बढ्न थालेको छ । यस्तो अवस्थामा इन्धनबाट चल्ने सवारीसाधनको व्यापारमा ७० प्रतिशतसम्मको कमी आएपछि इन्धनबाट चल्ने सवारीसाधन, माइक्रो र भ्यानको बिक्री–वितरण गर्ने कम्पनीहरूले नै स्पोन्सर र बुष्ट गरेर ईभी सवारीविरुद्ध प्रचारबाजी गरिरहेको पाइएको छ ।
FACEBOOK COMMENTS