काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रूपन्देही जिल्ला निवासी २८ वर्षीय जगदीश थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते थारुलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए ।
सोही दुर्घटनामा परी मोटरसाइकलमा पछाडी सवार दाडको राप्ती गाउँपालिका ६ निवासी २२ वर्षीय आदित्य चौधरी घाइते भएको र उहाँको हेटौँडा अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । मोटर साइकललाई ठक्कर दिने टिपर र चालक हेटौँडा उपमहानगरपालिका १५ भोर्ले निवासी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS