काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावबीच इराकमा अमेरिकी सेनाको एउटा सैन्य इन्धन आपूर्ति गर्ने विमान इराकमा दुर्घटनाग्रस्त भएको छ । अमेरिकी केन्द्रीय कमाण्डले उक्त घटनाको जानकारी दिएको छ ।
अमेरिकी सेनाका अनुसार केसी-१३५ प्रकारको विमान इरानविरुद्ध सञ्चालन भइरहेको सैन्य अभियानको हिस्सा थियो । प्रारम्भिक विवरणअनुसार दुर्घटना आक्रमण वा गोलीबारीका कारण नभएको बताइएको छ ।
अमेरिकी केन्द्रीय कमाण्डले पश्चिम एसियामा चलिरहेका सैन्य गतिविधिको निगरानी गर्दै आएको छ । कमाण्डका अनुसार घटनामा दुई वटा विमान संलग्न थिए । तीमध्ये एउटा विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भयो भने अर्को विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको हो । सेनाले यसलाई सैन्य क्षतिका रूपमा उल्लेख गरेको छ ।
दुर्घटनामा कति जनाको मृत्यु भयो भन्ने बारेमा स्पष्ट जानकारी दिइएको छैन । सामान्यतया केसी-१३५ उडान चालक दलमा तीन देखि चार सेवा सदस्यहरू हुन्छन्, एक पाइलट, सह-पाइलट र बूम अपरेटर, जुन व्यक्तिले केसी-१३५ बाट अन्य विमानहरूलाई मध्य-हावामा इन्धन भर्छ । केही मिसनहरूमा चालक दलमा नेभिगेटरहरू पनि आवश्यक पर्दछ ।
इरानविरुद्ध जारी अमेरिकी सैन्य अभियानका क्रममा सार्वजनिक रूपमा पुष्टि भएको यो चौथो विमान दुर्घटना हो । यसअघि गत साता अमेरिकी सेनाले तीन वटा अमेरिकी लडाकु विमान मित्र राष्ट्र कुवेतका सेनाको गल्तीपूर्ण गोलीबारीका कारण खसालिएको पुष्टि गरेको थियो ।

एफ- १५ ई स्ट्राइक इगल लडाकु विमानका सबै छ जना चालकदल सदस्य भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । उद्धारपछि उनीहरूको अवस्था स्थिर रहेको बताइएको थियो ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार इरानसँग जारी युद्धमा हालसम्म सात जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब १४० जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

FACEBOOK COMMENTS