बुटवल । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
प्रहरीले खोजी र उद्धार कार्य जारी रहेको जनाएको छ ।
दुर्घटनामा परेका पूर्वी रुकुम सिस्ने गाउँपालिका-५ टाकुरा बस्ने बर्ष ३२ को समिर कामीको बाँया खुट्टा, निधार र बाँया आँखामा चोट लागेको र मध्यम बोल्न सक्ने अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । उनको हाल आधारभुत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भईरहेको छ । जीपमा कति सवार थिए भन्ने स्पष्ट भएको छैन ।
दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउनेक्रममा रहेको छ ।
