धनगढी । बस दुर्घटनामा धनगढी जुगेडाकी एक उसु खेलाडीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी १९ वर्षीया उसु खेलाडी निता खड्का रहेकी छन् ।
सुदूरपश्चिम प्रदेशका खेलाडी सवार बस कपिलवस्तुमा ट्रकसँग ठोक्किँदा उनको मृत्यु भएको हो । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।
हेटौंडामा आयोजना गरिएको प्रथम प्रदेशस्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किँदै गर्दा खेलाडी र प्रशिक्षकसमेत गरेर ३३ जना सवार सुप प्र ०१००१ ख ३३९२ नम्बरको बस र लु १ त ८६०८ नम्बरको ट्रक धानखोलामा आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर ओलीले दुर्घटनामा बसमा सवार धनगढी–१२ बस्ने खड्काको मृत्यु भएको बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।
बसमा सवार अन्य उसु खेलाडीहरू पुष्पा कुँवर, सपना तामाङ्ग, सृजना विसी., मुकेश कार्की, अस्मिता गाहामगर, अभी महतो, हरिचन्द्र कार्की, दीपक चौधरी र ज्ञानु विक तथा निर्णायकहरू खुशीराम चौधरी, राजीव गुप्ता र एलिसा खाती घाइते भएको जनाइएको छ ।
उसु खेलाडी पुष्पा कुवँरको हात भाँचिएको प्रहरीले जनाएको छ । हेटौंडामा आयोजित अन्तरप्रदेशस्तरीय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले २२ मध्य १४ स्वर्ण जितेको थियो ।
FACEBOOK COMMENTS