काठमाडौं, ३ भदौ । नेपालको विद्युत् क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगको एउटा सूचनाका कारण निरन्तर वृद्धि भइरहेको शेयरबजारमा आज बिहीबार अकस्मात् १८ दशमलव २४ अङ्कको करेक्शन आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकले घटेको हो । यसरी घट्नुको मुल कारण आयोगले जारी गरेको सूचनानै कारक मानिएको छ । आज नेप्से १८ दशमलव १७ अंकले घटेर तीन हजार १८० दशमलब ८६ विन्दुमा थामिएको छ ।
त्यस्तै, आज २० अर्ब ४९ करोड ९२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका पाँच समूह बढेका छन् भने अन्य सबै समूह घटेर राताम्य भएका छन् । आज बैंकिङ, होटेल एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, म्युच्युअल फण्ड र इन्भेष्टमेन्ट समूहको सूचक घटेका छन् । त्यस्तै ट्रेडिङ, निर्जीवन बीमा माइक्रोफाइनान्स जीवन बीमा र अन्य समूह भने बढीमा ३ दशमलव २ प्रतिशतसम्म बढेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३९०६ दशमलव १० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हाइड्रोइलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर र पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको आज एक अर्ब १६ करोड भन्दा बढीको कारोबार भएको छ ।
हाइड्रोपावरको शेयरमूल्य उच्च वृद्धि भई समग्र शेयर बजारमा सकारात्मक प्रभाव पारिरहेको बेलामा विद्युत नियमन आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । आयोगले नेटवर्थ, पिई रेशियो, बजारमूल्य लगायतका सूचकहरु अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको छ ।
आयोगले कुनै पनि कम्पनीले दिने वा दिनसक्ने लाभांशको समेत लेखाजोखा गरी लगानी गर्न आग्रह गरेको छ ।
FACEBOOK COMMENTS