काठमाडौँ । भनिन्छ समृद्धिका लागि सुशासन आवश्यक हुन्छ । जुन मुलुकमा सुशासन हुँदैन, त्यो मुलुकले समृद्धि हासिल गर्न सक्दैन । नेपालमा पनि पछिल्लो समय समृद्धिको बहस हुन हुँदै आएको छ । यही सन्दर्भमा काठमाडौंको शंखमूलमा रहेको चैतन्य एकेडेमीले असोज १ र २ गते धुलिखेलको आगन्तुक रिसोर्टमा दुई दिने’ सुशासन र समृद्धि विषयक सेमिनारको आयोजना गर्यो ।
कार्यक्रममा करिव दुई सयको सङ्ख्यामा नेपाल सरकार उच्च पदस्थ कर्मचारी तथा पालिका प्रमुखहरूको सहभागिता रहेको थियो। सेमिनारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय विषयक सत्र विज्ञहरूबीच सञ्चालन भएका थिए ।
सेमिनारको उद्घाटन प्रोफेसर डा सुरेशराज शर्माले गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै समृद्धिका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए ।‘राजनीति आफ्नो ठाउँमा छ । त्यसका अलावा परिवर्तनका लागि कर्मचारीको भूमिका महत्त्वपूर्ण रहन्छ । कर्मचारीले इमान्दारिताका साथ पुरा समय काम गरे जनताले समयमै सेवा पाउने र मुलुक समृद्धिको मार्गमा जाने हुन्छ,’ उनले भने ।
यसका साथै सबै पक्षले मुलुकको समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड् दिनु पर्ने र आत्मनिर्भर हुनुपर्ने धारणा राखेका थिए । पढ्न पनि विदेशै जाने र रोजगारीका लागि पनि विदेश नै रोज्ने प्रवृतिको पनि अन्त्य हुनुपर्ने उनको धारणा थियो ।
यस्तै कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले समृद्धिको अर्थ परम्परागत अर्थ सफल हुनु भएको धारणा राखे । जवाफदेही सरकारले मात्र जनतालाई आर्थिक समृद्धिको आभाष दिलाउन सक्ने उनले बताए । ‘समृद्धि चाहने मुलुकका नेताहरू जनतालाई सुख, सुविधा र शान्ति कसरी दिने भन्ने चिन्तामा छन् । जनताका आवश्यकता र आकाङ्क्षा दिन प्रतिदिन बढ्दै गएका छन् । तर त्यसको सापेक्षमा शासकीय क्षमता बढ्न सकेको छैन । सर्वसाधारण उही सेवा पनि नयाँ स्वादमा लिन चाहिरहेका छन् । सो अनुरुप राज्य संयन्त्रको क्षमता विकास हुनसकेको छैन । जनताको चेतनाको स्तर, उदार लोकतन्त्रको अभ्यास, विश्वव्यापिकरण र सूचना प्रविधिको व्यापक विस्तारले जवाफदेही सरकारको माग बढेको छ,’ उनले भने ।
शास्त्रीय शासन पद्धति र नवीन चाहनाबीचको असन्तुलनले राज्यप्रक्रियामा नवप्रत्र्तनको माग भएको मैनालीको भनाई छ । आधुनिक अर्थमा ‘स्वास्थ्य, सम्पत्ति र खुसी’को समष्टि रूप नै समृद्धि भएको उनले बताए । ‘मानिसका सफलता प्रत्यक्ष र अनुभूति, दृश्य र अदृश्य आयामबाट हेरिन गरिन्छ। यसर्थ समृद्धि भनेको मानिसका आवश्यकता र अकाङ्क्षा पूरा हुनु हो। आवश्यकता र आकाङ्क्षाको दायरा गतिशील रुपमा फराकिलो हुने गर्दछ,’ मैनाली भन्छन् ।
गरिबी र बञ्चिती विकास तथा समृद्धिको बाधक भएको मैनालीले बताए । अफ्रिका तथा एशियाका मुलुकहरूमा रहेको गरिबीले समृद्धिको मार्गलाई अवरुद्ध गरिरहेको उनले उदाहरण दिए । ‘सामाजिक भेदभाव, आधारभूत आवश्यकताबाट बञ्चिती, अवसरमाथिको कमजोर पहूँच, शिक्षा तथा स्वास्थ्य सेवामा रहने कमजोर सामथ्र्य गरिबीका कारण हुन्। गरिबीका धेरै स्वरुप भएपनि आर्थिक स्वरुप सबैभन्दा असरदार यस अर्थमा छ कि आर्थिक कारणले नै व्यक्ति शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवाको सामथ्र्यबाट पर पुग्छ, मानव पूजी विकास गर्न सक्दैन र आफ्ना सपनाहरू साँघुरा बनाउँछ,’ उनी भन्छन् ।
औसत सूचकका आधारमा नेपाल ११४ औं स्थानमा रहेको उनले बताए । विगत एक दशकको आँकडामा नेपालले १७ विन्दूले स्तर बढाए पनि अहिले पनि मध्यस्थ भन्दा तल रहेको उनको टिप्पणी छ । ‘छिमेकी मुलुकसँग तुलना गर्दा उदीयमान अर्थतन्त्र भएको चीन ५४ औं मा र भारत १०१ औ मा छन्। यस बर्षबाट चरम आर्थिक सङ्कटमा परेको श्रीलङ्का ८८ औ मा छ भने सार्कका तीन मुलुकहरू बङ्गलादेश (१२६ औ), पाकिस्तान (१३८ औं) र अफगानिस्तान ९१६३ औं० नेपालभन्दा पछि छन्,’ उनले भने ।
यस्तै नेपाल सरकारका पूर्वमुख्य सचिव डा. विमल कोइरालाले शासक र कर्मचारीहरूले नै मुलुकको अनुहार फेर्नसक्ने धारणा राखेका थिए । ‘समस्याहरूको पहिचान गर्ने मात्र होइन, समाधानमा पनि ध्यान दिनुपर्छ। हामीले समस्याको समाधान गरेर मात्रै समृद्धि कायम गर्न सक्छौँ,’ उनले भने । सुशासनका लागि शासकहरूले जनतासँग साझेदारी गर्दै अघि बढ्नुपर्ने उनले बताए ।
डा. कोइरालाले नेपालमा राजनीतिक नेतृत्व भए पनि परिवर्तनको नेतृत्व नभएको बताए । ‘हामीले राजनीतिक नेतृत्व पायौँ तर परिवर्तनको नेतृत्व पाएनौं, त्यसैले गर्दा समृद्धिमा समस्या भैरहेको छ,’ उनी भन्छन् । उनले हरेक नेपालीको घरदैलोसम्म पुग्नुपर्ने बताएका हुन् । असल साशन भनेको विद्यार्थीले विद्यालय गएकै दिन पाठ्यपुस्तक पाउनु, नागरिकले आफ्नो कुरा ढुक्कसँग राख्न पाउनु, किसानले समयमै मल बिउ पाउनु भएको उनी बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त सुर्यनाथ उपाध्यायले समृद्धिका लागि चाहिने सबैभन्दा महत्वपूर्ण पाटो सुशासन भएको बताउँछन् । सुरक्षा, शिक्षा, स्वास्थ्य र जनताले स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै सुशासन भएको उपाध्यायको भनाइ छ । त्यसैको जगमा समृद्धि हासिल हुने उनको तर्क छ । यसका साथै कर्मचारीको माथिल्लो ओहदामा सरकारले योग्य व्यक्ति छनौट गर्न नसक्दा पनि समृद्धिको यात्रामा बाधा पुग्ने गरेको उनी बताउँछन् । कर्मचारीको छनौट प्रक्रिया पारदर्शी हुनुपर्ने उपाध्यायको धारणा छ ।
राष्ट्रिय सभा सदस्य विमला राई पौडेल कर्मचारी र जनप्रतिनिधिबीच राम्रो समन्वय नहुनुका कारण नै समृद्धिको सपना पुरा नभएको बताउँछिन् । कर्मचारीहरूले काम नहुने दस वटा तर्क दिने गरेको तर काम हुनसक्ने एउटा विकल्प पनि नदिने गरेको उनको गुनासो छ ।
राजनीतिक रूपमै पनि थुप्रै सुधार ल्याउनुपर्ने राईको भनाई छ। कर्मचारीको सरुवा बढुवालाई व्यवस्थित बनाउनु जरुरी रहेको उनी औंल्याउछिन् । ‘लोकसेवा पास गर्दैमा सबै सक्षम हुन्छन भन्ने छैन, सबै असक्षम पनि हुँदैनन्। कर्मचारीको क्षमता बुझेर उनीहरूलाई सहि ठाउँमा पठाउनुपर्ने हुन्छ,’ उनले भनिन् ।
यसका साथै कर्मचारीलाई जिम्मेवार बनाउन कर्मचारीका संगठन खारेज गर्नुपर्ने उनको धारणा छ । कर्मचारीका संगठनले असक्षम व्यक्तिलाई लुकाउने उनको तर्क छ। जहिलेसम्म कर्मचारीका संगठन हुन्छन तबसम्म समृद्धि त के थोरै पनि प्रगति हुनेवाला छैन ।
नीति तथा अनुसन्धान परिषदकी वरिष्ठ अनुसन्धानकर्ता डाक्टर कल्पना खनालले सुशासन, समृद्धि र आर्थिक विकाशको एतिहासिक परिवर्तनका लागि राजयका सबै निकाय सक्रिय हुनुपर्ने धारणा राखेकी छन् ।‘हाम्रो मुलुकका लागि राम्रो के हुनसक्छ। बाह्य मुलुकको विकास ढाँचा हेरेर हामीले त्यसलाई अनुसरण पनि गर्न सक्छौं,’ उनले भनिन् । जनतानप्रति जवाफदेही र उत्तरदायी सरकारले मात्रै मुलुकमा परिवर्तन ल्याउन सक्ने खनाल बताउँछिन् । यसका साथै प्रशासनको सरलीकरण पनि विकासको सूचक भएको उनी बताउँछिन् ।
पूर्वमन्त्री एवं कुटनीति र अन्तर्राष्ट्रिय क्षेत्रका जानकार डा। रमेशनाथ पाण्डेले विदेशीसँग नेपाली नेताहरूले समान हैसियतमा कुरा गर्नसक्नु पर्ने बताएका छन् । ‘हामीले आत्मसम्मान गुमाएका छौं। विदेशीसँग कुरा गर्दा समान हैसियतमा बसेर कुरा गर्दैनौं। हामी लतारिन्छौं। हाम्रा पूर्खाले आत्मसम्मान र गौरव गर्ने कुरा दिएका गएका छन्। हामीले आत्मसम्मानबाट डिल गर्नुपर्छ। लतारिनु हुँदैन,’ उनले भने । उनले आत्मसम्मान र आत्मगौरव तथ्यगत हुनुपर्ने बताए। त्यसका लागि अध्ययन आवश्यक हुने उनको भनाइ छ ।
यसका साथै पराराष्ट्र नीति राष्ट्रिय स्वार्थ भएको र त्यो कहिले परिवर्तन नहुने उनले बताए । विधि परिवर्तन भए पनि नीति परिवर्तन नहुने उनी बताउँछन्। ‘हाम्रो देशमा प्रत्यक सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र सुदृढिकरणका लागि नीति बनाउने भन्दै समिति गठन गरिरहेको हुन्छ । अन्य शक्तिशाली मुलुकले त्यस्तो गर्दैनन्। नेताहरूले नीति नभएर विधि परिवर्तन हुन्छ भन्ने कुरा बुझ्नुपर्छ ।
देशको समृद्धिमा अन्तराष्ट्रिय सम्बन्ध महत्वपूर्ण हुने पाण्डेले बताए । नेपालको स्थायीत्वका लागि पनि दिगो अन्तर्राष्ट्रिय सम्बन्धको अपरिहार्यता रहेको उनी बताउँछन् । राज्यका सबै संयन्त्र बलियो हुँदा सरकार परिवर्तनले पनि समृद्धिमा कुनै असर नगर्ने पाण्डे बताउँछन् । ‘राज्यका सबै संयन्त्र बलिया हुँदा सरकार कति दिनमा फेरियो भन्ने कुराले अर्थ राख्दैन। मुलुक आफैँ कानुन संवत सञ्चालन भइरहेको हुन्छ,’ उनले भने ।
एनएमबी बैंक तथा गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले समृद्धिको यात्रा एक(एकजना व्यक्तिबाट नै सुरू हुने बताएका छन् । गोल्यान समूह र एनएमबी बैंक सफल हुनुमा कर्मचारीकै कारण सफल हुनसकेको उनले बताए । कर्मचारी भनेको कुनै पनि देश र कम्पनीका लागि मेरुदण्ड भएको उनको तर्क छ । ‘गोल्यान समूह सफल हुनुमा कर्मचारीको ठूलो हात छ, हामी सफल हुनुको प्रमुख कारण सुशासन नै हो, हामीले गरेका सबै योजनामा कर्मचारीको पूरा सहयोग छ। त्यसैले कर्मचारीले चाहेको खण्डमा देश पनि समृद्ध बन्न सक्छ,’ उनले भने ।
गोल्यानले सिंगापुर लगायत तरक्की गरेका देशहरू एक जनाकै कारणले बन्न सम्भव भएकाले हामीले ‘म एक जनाले के गर्न सक्छु र रु’ भन्ने भावना त्याग्नुपर्ने बताए । एक जनाको हिम्मतका कारण धेरै कुरा सम्भव बहेको उनले बताए । नेपालमा कृषि पेशा ‘व्यावसाय’ बन्न नसकेको उनको गुनासो छ । ‘हाम्रा आफ्नै कारण र सरकारका कतिपय प्रावधानका कारण हामीले कृषिलाई व्यावसाय बनाउन सकेका छैनौँ, तर अब हामी सबैले यसबारे सोच्नुपर्छ, कर्मचारीले पनि खाली समयमा कृषिलाई अपनाउने हो भने यसले पनि फरक पार्छ,’ उनी भन्छन् ।
उनले कृषिका लागि स्थानीय तहहरूले नयाँ तरिकाले सोच्नुपर्ने बेला भएको बताए । अहिले देशको सबैभन्दा शक्तिशाली सरकार स्थानीय सरकार नै भएकाले हिम्मत गरेर लाग्नुपर्ने उनको भनाई छ ।
कुनै पनि कृषियोग्य जमिन बाँझो रहन नहुने भन्दै उनले सबैलाई कृषि कर्ममा जोडिनको लागि आग्रह गरे। साथसाथै उनले यसरी लागेको खण्डमा नेपाल ३ महिनाभित्र तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए ।
गोल्यानले हामी सबैले नेपाली उत्पादन प्रयोग गरेमात्रै काम गर्नेहरूलाई पनि प्रेरणा मिल्ने बताए । ‘पहिले त चलन थियो, अहिले सबै हट्यो। सरकारी कार्यालय टिप्पणी उठाउन नेपाली कागजको प्रयोग अनिवार्य थियो, अहिले त्यो सिस्टम हट्यो । मैले त के सुन्दै छु भने अब त लालपूर्जा पनि नेपाली कागजमा नबन्ने भयो रे, यसरी चाहिं हुँदैन, उनले भने । सरकारी कार्यालयमा नेपाली कागजको प्रयोग अनिवार्य गराउनुपर्ने उनको तर्क थियो ।
मदन पुरस्कार विजेता साहित्यकार एवं कवि डा. नवराज लम्सालले समृद्धिका लागि विभिन्न क्षेत्रका व्यक्तिले आफ्नो जिम्मेवारी कुसलतापूर्वक पुरा गर्नुपर्ने बताएका छन् । सबैले आफ्नो जिम्मेवारी पुरा गरेमात्रै त्यसले राम्रो नतिजा दिनसक्ने लम्साल बताउँछन् ।साहित्यिक चेतले समृद्धिको यात्रालाई सघाउने उनको भनाइ छ ।‘साहित्यकि चेतले आफूलाई सुद्धिकरण गरेर लैजान झकझक्याउने काम गर्छ। मान्छेले दीर्घजीवी दिव्यजोति खोज्नुपर्छ,’ उनले भने।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतविद् डा. गजमान गुरुङले भौतिक संरचनालाई मात्र राष्ट्रिय गौरवको योजना मान्नु गलत भएको बताएका छन् ।‘भौतिक समृद्धि मात्रै राष्ट्रिय गौरवको आयोजना होइन । कला, साहित्यको समृद्धिलाई पनि राष्ट्रिय गौरवको आयोजना हुनसक्छ भन्ने कुरालाई नेताहरूले बुझ्न जरुरी छ,’ उनले भने ।
उनले समृद्धि भनेको केहो भन्ने विषयमा सबै जना प्रस्ट हुनुपर्ने बताए । नेपाल कला, साहित्यका क्षेत्रमा धनी रहेको बताउँदै उनले यसको गरिमा बचाउनु पर्ने धारणा राखे । ‘पश्चिमा देश समृद्ध छन् । तर, उनीहरू मनरोगी छन् । मलाई सान्त पार्न हाइकिङ भन्दै हिँड्न नेपालमै पनि आउँछन् । हामी त भौतिक, सांस्कृति रूपमा सम्पन्न छौं । यसको गरिमालाई बचाउनुपर्छ,’ उनले भने ।
सुख, शान्ति र समृद्धि के हो ? भन्ने प्रश्नमा आनी छोइङ डोल्मा भन्छिन्, ‘सुखानुभूति नै शान्ति हो ।’ आनी शान्तिका लागि आत्मस्वभावभित्र लिन हुन सक्नुपर्ने बताउँछिन् । ‘आत्मस्वभावमा लिन हुनसके मात्रै शान्ति प्राप्त हुन्छ । सुखी अरुले दिने होइन, आफूभित्र खोज्नुपर्छ। मभित्रको मलाई चिन्न सके र आन्तरिक शान्ति लिन सकेमात्रै खुसी प्राप्त हुन्छ,’ उनले भनिन् ।
उनले शान्ति कसैले दिने वस्तु नभएको बताएकी छन् । विभिन्न क्षेत्र अनुसार शान्तिको परिभाषा फरक हुने उनको धारणा छ ।‘आर्थिक शान्तिको परिभाषा फरक छ। सामाजिक शान्तिको परिभाषा पनि फरक छ। यस्तै व्यक्तिको परिभाषा पनि भिन्नै हुन्छ। यसका विभिन्न पाटा छन्,’ उनले भनिन् ।
बाह्यमुखी विचारमा हराउँदा मान्छेले आफूलाई चिन्न नसक्ने आनीले बताइन् । यस्तै खुसीलाई परिभाषित गर्दै आनी भन्छिन्, ‘कुनै राम्रो कुरा देख्दा आनन्दको अनुभूति हुन्छ। कहिलेकाहिँ बारिमा राम्रो फूल फुलेको देख्दा पनि म खुसी हुन्छु । छोराले बुढो बुवाको हात समायर डोर्याएको देख्नु पनि मेरो खुसीको स्रोत हो । ती पलले मलाई सुखी दिन्छ र म आनन्दित हुन्छु। जीवनमा जे पाउँदा हामी सन्तुष्ट हुन्छौं, त्यही नै खुसी हो,’ उनले भनिन् ।
म भन्नु के स्वार्थको विषय होरु भन्ने प्रश्नमा आनीले त्यो अहंकार नभएर मानवजीवको अंश भएको बताइन् । देशको आर्थिक उन्नतिका लागि सामूहिक कर्म आवश्यक हुने र त्यो एक/एक व्यक्तिबाटमात्रै सम्भव हुने धारणा राखेकी छन् । आजको राजनीतिक, आर्थिक र सामाजिक अवस्था सुधार्नका लागि सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताइन् । त्यो परिवर्नका लागि मैले सुरु गर्नुपर्छ भन्ने धारणा नै आजको आवश्यकता भएको उनले बताइन् ।
यस्तै एकेडेमीले विगत १० वर्षदेखि देशको समग्र विकास, रुपान्तरण एवं समृद्धिलाई मुख्य विषय मानेर देशमा उपलब्ध विज्ञहरूको सहभागीतामा बौद्धिक बहस आयोजना गर्दै आएको ऐकेडेमीका निर्देशक गणेश जोशी बताउँछन् । उनल आगामी दिनमा ऐकेडेमीले यस्तै खाले बहसका कार्यक्रम गर्दै जाने बताएका छन् ।
FACEBOOK COMMENTS