काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कालाई सचेत गराउने भएको छ । कांग्रेस अनुशासन समितिको बुधबार बसेको बैठकले अनुशासन उल्लंघन गरेको भन्दै खड्कालाई सचेत गराउने निर्णय गरेको हो ।
खड्काले हालै कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य निकालेका थिए । उनले आफू कांग्रेसको कार्यवाहक सभापति भएको भन्दै गतिविधि गरिरहेका छन् ।
उनले समानान्तर गतिविधि नरोके थप कारबाही अगाडि बढ्ने चेतावनी पनि अनुशासन समितिले दिएको छ ।
यस्तै समितिले २१ फागुनको चुनावमा अन्तर्घात गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।
अनुशासन समिति संयोजक तारामान गुरुङका अनुसार समितिमा अन्तर्घात भएको लगायतका विषयमा ५०७ वटा उजुरी परेका छन् ।


