काठमाडौं, ११ असोज – दसैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्ला जानेहरुका लागि बसको टिकटमा अग्रिम बुकिङ खुलेको छ। सोमबारबाट टिकट बुकिङ गर्न सकिने भएको छ। सरकार, व्यवसायी र सरोकारवाला निकायको समन्वयमा लामो दुरीको बसका लागि अग्रिम टिकट बुकिङ खोलिएको हो। बिहानै नयाँ बसपार्क लगायतका स्थानहरुमा टिकट बुकिङका लागि मानिसहरु पुगेका छन्। अनलाइनबाट पनि टिकट काट्न सुरु भएको छ। टिकट काउन्टरमा आफैं पुगेर काट्नुभन्दा सजिलो भएकाले यसपटक अनलाइन माध्यमबाट बुकिङ गर्नेहरु बढेका छन्।
यो वर्ष दसैं मनाउन जानेहरुले बढेको भाडादर तिर्नु पर्नेछ। यातायात व्यवस्था विभागले गत असार ३० गते सूचना निकाल्दै यात्रुवाहक सवारी साधनको २८ प्रतिशतले भाडा बढाएको थियो। विभागका निर्देशक रामचन्द्र पौडेलको संयोजकत्वमा भाडादर समायोजन समिति गठन भएको थियो। उक्त समितिले दिएको प्रतिवेदनका आधारमा भाडादर समायोजन भएको हो।
कर्मचारीको तलब सुविधा, कर, वार्षिक बीमाको प्रिमियम, सम्भार-मर्मत खर्च, ब्याजदर, ब्याट्रीको मूल्य ह्रास, इन्धन, टायर, लुब्रिकेन्ट लगायतका १३ इन्टिकेटरलाई आधार मानेर भाडादर समायोजन गरिएको निर्देशक पौडेलले बताए।
विभागले एक प्रदेशबाट अर्को प्रदेशमा जाने लामो दुरीका सवारी साधनहरुको भाडा बढाएको हो।
FACEBOOK COMMENTS