काठमाडौँ । पाकिस्तानले अफगानिस्तान सीमाक्षेत्रमा सातवटा आतंकवादी अड्डा र शिविरमाथि आक्रमण गरेको जनाएको छ ।
पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार कारबाही ‘फितना अल ख्वारिज’ सँग सम्बद्ध पाकिस्तानी तालिबान र उसका सहयोगी समूहहरू तथा इस्लामिक स्टेट अफ खोरासान प्रान्त (आईएसकेपी) का अड्डामाथि केन्द्रित थियो ।
पाकिस्तानले हालै देशभित्र भएका आत्मघाती हमलाको जवाफस्वरूप उक्त कारबाही गरिएको दाबी गरेको छ । ती हमलाहरू अफगानिस्तानस्थित नेतृत्व र ह्यान्डलरहरूको निर्देशनमा भएको पुख्ता प्रमाण रहेको उल्लेख गरिएको छ ।
साथै, अफगानिस्तानको भूमिबाट पाकिस्तानविरुद्ध गतिविधि हुन नदिन तालिबान सरकारसँग पटक–पटक आग्रह गरिए पनि ठोस कदम नचालिएको आरोप लगाइएको छ ।
यता अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जाबिहुल्लाह मुजहिदले भने पाकिस्तानी सेनाले अफगानिस्तानको सीमा उल्लंघन गरेको आरोप लगाएका छन् ।

उनले नांगरहार र पक्तिका प्रान्तमा भएको बमबारीमा महिला र बालबालिकासहित दर्जनौँ निर्दोष नागरिकको मृत्यु तथा घाइते भएको दाबी गरेका छन् ।
दुवै पक्षका आरोप–प्रत्यारोपपछि सीमाक्षेत्रमा तनाव थप बढेको छ।

FACEBOOK COMMENTS