काठमाडौं । चीनसँगको सबैभन्दा नजिकको तातोपानी नाका सोमबारदेखि खुलेको छ। ८ वर्षपछि नाका खुलेको हो।
गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि यो नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो।
उक्त सहमतिअनुसार नै नेपाल र चीन दुवैतर्फबाट यो नाकाबाट आयात निर्यात खुल्ला भएको हो।
नेपालले पटक पटक नाका खोल्नका लागि प्रयास गरे पनि चीन तयार नहुँदा रोकिँदै आएको थियो।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका आज नेपालबाट हस्तकलाका सामग्रीले भरिएको कन्टेनर पठाएर सुरु भएको घोषणा गरियो।
मुढासहित अन्य हस्तकलाका सामग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।
यसअघि नेपाल र चिनियाँ पक्षका बीचमा नाकालाई वैशाख १८ गतेदेखि खोल्ने सहमति भएको थियो।
नाका सुरु हुँदा मितेरी पुलपारि चीनको झाङ्मु पोर्ट, पार्किङ, पुनर्निर्माण भइरहेका बजार इलाका भेगमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा चिनियाँहरू बाक्लो रुपमा उपस्थित भएका थिए।
नाका सुरुवात गर्ने कार्यक्रममा चीनका न्यालम प्रमुखसहित बोर्डर कन्ट्रोल प्रमुख सु गाङ, खासा अनुसन्धान प्रमुख गे साङजस्ता उच्च अधिकारी उपस्थित थिए।
तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बीओपी)का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीय उपस्थित थिए।
FACEBOOK COMMENTS