काठमाडौं । निजी क्षेत्रको एउटा महत्वपूर्ण सङ्गठन नेपाल चेम्बर अफ कमर्शले मुलुकमा कुल आयात गरिएकोमध्येबाट न्यूनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप उद्योगी व्यवसायी र त्यससँग सम्बन्धित व्यक्तिहरूलाई छुट्याउनुपर्ने बताएको छ ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा आज मंगलबार नवनियुक्त प्रधानान्त्री शेरबहादुर देउवालाई भेट्न गएको प्रतिनिधिमण्डलले यस्तो माग गरेको हो । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गराउँदै चेम्बरले निजी क्षेत्रको आत्मवल वृद्धि हुनसके मात्र आर्थिक विकास तथा रोजगारी वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्ने भएकाले उद्योगी व्यवसायीलाई खोपको प्राथमिकतामा राखिनुपर्नेमा जोड दिएको हो ।
उक्त अवसरमा चेम्बरका अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनरस्थापित गर्न विभिन्न सुझावहरु समेत प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छन् । ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखि नै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको र अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको छ,’ सुझाव प्रस्तुत गर्दै मल्लले भने, ‘मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने र निजी क्षेत्रको आत्मवल वृद्धि भएमा मात्र आर्थिक विकास तथा रोजगारीमा वृद्धि भई अर्थतन्त्रमा योगदान पुग्छ ।’
‘निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्यूनतम १० प्रतिशत कोरोनाविरुद्धको खोप प्रदेश, जिल्ला नगर तथा गाउँ स्तरका चेम्बरहरु, समस्त उद्योगी तथा व्यवसायीहरु र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरूलाई लगाउने सुविधा उपलब्ध गराइनुपर्छ,’ उनले प्रधानमन्त्री देउवासमक्ष आग्रह गर्दै भने । यसका अतिरिक्त अध्यक्ष मल्लले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेजको व्यवस्था गरिनु पर्ने माग समेत गरेका छन् ।
उक्त राहत प्याकेजअन्तर्गतको रकम ३ प्रतिशत ब्याजदरमा उपलब्ध गराइनु पर्ने, संसदमा बिचाराधीन आर्थिक विधेयकहरू पारित गरिनु पर्ने, आर्थिक गतिविधि विस्तार एवम् अर्थतन्त्र प्रतिस्पर्धी राख्न एकल अंकको ब्याजदर ७ देखि ८ प्रतिशतभित्र र रुग्ण उद्योगको हकमा ३ प्रतिशत देखि ५ प्रतिशतसम्म व्यवस्थापन गरिनुपर्ने चेम्बरको माग छ ।
त्यस्तै बजेटमा विनियोजन गरिएको पूँजीगत बजेट समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने, कृषि क्षेत्रमा प्रोत्साहनमुलक कार्यक्रम ल्याइनु पर्ने, निर्यात अनुदान मूल्य अभिवृद्धिको आधारमा दिइनु पर्ने, विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने कार्यक्रमहरु ल्याइनु पर्ने, लगानीको स्रोतको वैधतामा सरलीकरण हुनु पर्ने, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न विशेष प्राथमिकता दिन प्रधानमन्त्रीसमक्ष चेम्बरले विशेष आग्रह गरेको छ ।
उक्त अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मल्होत्रा, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, त्रिभुवनधर तुलाधर मानार्थ उपाध्यक्ष लोकमान्य गोल्छा तथा चेम्बरका सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेको उपस्थिति थियो ।
सो अवसरमा प्रतिनिधिमण्डलले गणतन्त्र नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ज्ञापन गरेको थियो ।
FACEBOOK COMMENTS