काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा। भाइकाजी तिवारी र तत्कालीन शाखा अधिकृत (करार) याम कुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले गलत लिखत तयारी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले विशेष अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर गरेको हो । अख्तियारले बिहीबार तिवारीविरुद्ध साढे १० करोडभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
तिवारी र कार्कीले कागजात सच्याई गलत लिखत तयार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
तिवारी र कार्कीको आपसी मिलेमतो तथा योजनामा भ्रष्टाचारजन्य कसुरबाट उन्मुक्ति लिने प्रयोजनको लागि सरकारी लिखत रलेटरप्याड, छाप लगायतको दुरुपयोग गरेको पाइएको अख्तियारद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । अख्तियारले कैद र जरिवाना सजाय मागदाबी गर्दै तिवारी र कार्कीविरुद्ध मुद्दा दायर गरेको छ ।