काठमाडौँ । पाकिस्तानी क्रिकेटर सलमान अली आघालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले आचारसंहिता उल्लङ्घन गरेको भन्दै आधिकारिक चेतावनी दिएको छ ।
बङ्गलादेशविरुद्ध ढाकामा शुक्रबार भएको दोस्रो एकदिवसीय खेलका क्रममा आघाले खेलाडी र सहयोगी सदस्यका लागि लागू गरिएको आचारसंहिताको पहिलो तहको नियम उल्लङ्घन गरेको पाइएको आइसीसी जनाएको छ ।
आइसीसीका अनुसार उनले अन्तर्राष्ट्रिय खेलका क्रममा क्रिकेट सामग्री वा मैदानका उपकरण दुरुपयोग गर्न नहुने सम्बन्धी नियम उल्लङ्घन गरेका थिए । यस घटनासँगै उनको अनुशासन अभिलेखमा एक डिमेरिट अंक पनि थपिएको छ । पछिल्लो २४ महिनामा यो उनको पहिलो गल्ती हो । घटना पाकिस्तानको इनिङ्सको ३९औँ ओभरमा भएको थियो । रनआउट भएपछि आघाले आफ्नो ब्याटिङ पञ्जा र हेल्मेट रिसाएर मैदानमा फालेका थिए । आघाले गल्ती स्वीकार गर्दै खेल निर्णायक मण्डलका प्रतिनिधिले प्रस्ताव गरेको सजाय स्वीकार गरेपछि औपचारिक सुनुवाइ आवश्यक नपरेको बताइएको छ ।
मैदानमा रहेका अम्पायर एड्रियन होल्डस्टक र तनवीर अहमदसहित तेस्रो अम्पायर कुमार धर्मसेना र चौथो अम्पायर मसुदुर रहमान मुकुलले उनीविरुद्ध आरोप लगाएका थिए ।
पहिलो तहको उल्लङ्घनमा सामान्यतया आधिकारिक चेतावनी, खेल शुल्कको अधिकतम ५० प्रतिशतसम्म जरिवाना वा एकदेखि दुई डिमेरिट अंकसम्मको सजाय हुन सक्छ ।

यसैबीच पाकिस्तानले बङ्गलादेशलाई १२८ रनले हराउँदै तीन खेलको सिरिज १-१ ले बराबरीमा ल्याएको छ । सिरिजको अन्तिम खेल आइतबार हुनेछ।

FACEBOOK COMMENTS