काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय मुद्दाको विषयमा दलबीच सम्झौता र सहमति आवश्यक रहेको बताएका छन् ।
सञ्चार डबलीद्वारा शुक्रबार आयोजित हुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उनले नयाँ दलको आगमनसँगै अरु दलका लागि चुनौती खडा भएकाले सबै दलले गम्भीरतापूर्वक सोच्न जरुरी रहेको बताए । उनले राष्ट्रिय मुद्दाको विषयमा सम्झौता र सहमति गरी एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे ।
महासचिव गुरुङले हुम्ला जिल्लाको समग्र आर्थिक समुन्नतिका लागि कृषि, पशुपालन, जडीबुटीको सम्भावना उच्च रहेकाले पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुल लामा (भोटे)ले दुर्गम जिल्ला हुम्लामा लुकेका पर्यटकीय गन्तव्यलाई पहिचान गरी पशुपालन, जडीबुटीलगायत जिल्लाको समग्र विकासका लागि जिम्मेवारी बहन गर्नेमा प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS