भाद्र २६ , काठमाडौं । नेपाल विद्युत प्राधिकरण र खल्ती वालेटबीच सम्झौता भएको छ । सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई ५ लाख रुपैयाँसम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप कार्यकारी निर्देशक, मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक, श्री जोनाम भुर्तेल बीच हस्ताक्षर भएको छ ।
खल्ती एप को होमपेजमा भाद्ररहेको ‘इलेक्ट्रिसिटी’ आइकन मा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटन मा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिन्छ ।
खल्ती वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

