काठमाडौं, १८ भदौ । पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरे ।
उनले राज्यले ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैँमा उदाहरणीय काम भएको बताए । उनले नेपाल एउटै भएकोले विदेशमा गएर प्रचारप्रसार गर्दा एकैप्रकारको प्रचार गर्न अनुरोध गरे ।
अध्यक्ष रिजालले भने, ‘हाम्रो गल्ती छ भने हामीलाई सुझाव दिनुपर्यो, हामीलाई भन्नुपर्यो, हामी सुध्रिन्छौँ, तर नेगेटिभ टिप्पणी मात्रै गर्नुभन्दा अगाडि आज राज्यले नै त्यति ध्यान दिन नसकेको बेलामा पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याडेजसम्मको काम खोज्नु भनेको आफैँमा एउटा उदाहरणीय काम हो जस्तो मलाई लाग्छ, प्रचारप्रसारमा पनि हामी लागि परिरहेका छौँ, कोरोनाको यस्तो बेलामा पनि हामीले नेपाललाई चिनाउन भिडियो, अडियोहरु बनाइरहेका छौँ ।’
कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासको लागि समूहगत रुपमा काम गरिरहेको बताए ।
उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए । पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबै साथीहरुलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए ।
अध्यक्ष सुवेदीले भने, ‘हामी नेपााल टुरिजम बोर्डसँग डाइरेक्ली नै इन्भल्व छौँ, हरेक दिन जस्तो यसम्बन्धी विभिन्न विषयवस्तुमा मिटिङ गरिरहेका छौँ, हामी ढिला होइन, ज्वाइन्ट रुपमा काम गरिरहेका छौँ, टानको अहिलेको कार्यसमितिको समयवधि केही समय मात्र बाँकी छ, तर आउने कार्यसमितिले पनि हाम्रा गाइडलाइन, पदचापलाई फलो गर्नेछन्, यस अर्थमा पनि हामीले सम्पूर्ण टीमको तर्फबाट यो कार्यक्रमलाई अघि बढाउनेछौँ ।’
अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए । टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
FACEBOOK COMMENTS