कार्तिक ०३ काठमाडौं । वाणिज्य बैंकहरुले हाललाई संस्थागत मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा बढी ब्याजदर नतोक्नेगरी सहमति गरेका छन् ।
नेपाल बैंकर्स एसोसिएसनका पदाधिकारीहरुको आज बसेको बैठकमा यसबारे मोटामोटी सहमति भएको हो ।
एसोसिएसनका उपाध्यक्ष अनिल उपाध्यायले भने ‘राष्ट्र बैंकको निर्देशन मान्नुपऱ्यो, त्यो निर्देशनअनुसार संस्थागत मुद्दतीमा १० प्रतिशतभन्दा माथि ब्याज जाँदैन, अहिलेलाई सबैले त्यसलाई पालना गर्ने सहमति भएको हो ।’
राष्ट्र बैंकको निर्देशनअनुसार सबैजसो बैंकले नयाँ ब्याजदर सार्वजनिक गर्ने पनि उनले बताए । वाणिज्य बैंकहरुले नै व्यक्तिगत र संस्थागत मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर तोकेपछि राष्ट्र बैंकले हिजो मंगलबार निर्देशन जारी गर्दै अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढीले ब्याजदर परिवर्तन गर्न नपाइने व्यवस्था गऱ्यो ।
सो अनुसार नयाँ ब्याजदर सार्वजनिक गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको छ । त्यस्तै संस्थागत मुद्दतीमा व्यक्तिगतभन्दा १ प्रतिशत कम ब्याजदर तोक्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
FACEBOOK COMMENTS