काठमाडौं । नेपालमा १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको छ भने सोसँगै कृषक पनि घटेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकले ५५ वर्षमुनिको कृषकको संख्या अत्यन्तै घटेको र सोभन्दा माथिको उमेरको संख्या भने बढेको देखाएको छ ।
१० वर्षअघि २५ लाख हेक्टर कृषियोग्य जग्गा रहेकामा अहिले २२ लाखमा सीमित भएको छ । यसैगरी, ६२ प्रतिशत घरपरिवार मात्रै कृषक परिवार रहेको पनि तथ्यांकले देखाएको छ । १० वर्षअघि कृषक परिवारको प्रतिशत ७१ रहेको थियो । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रीकुमार कार्कीले नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको बताए ।
अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो । कृषक घटेसँगै चौपाया घरपालुवा जनावरको संख्या पनि घटेको छ । १० वर्षमा राँगाभैंसीको संख्या साढे २ लाखले घटेको देखिएको हो ।
राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार रहेको छ । २०६८ को गणनामा भैंसीको संख्या ३१ लाख ७४ हजार रहेकोमा १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको हो । २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजार रहेकोमा अहिले १४ लाख १७ हजारमा सीमित भएको छ ।
यसैगरी, तथ्यांकले नेपालका १२ प्रतिशत किसानले मात्रै कृषि ऋण लिएको देखिएको छ । कृषि ऋण लिनेहरू २०६८ मा २२ प्रतिशत रहेका थिए । हिमालमा शून्य दशमलव २ प्रतिशत कृषक परिवार बढेको र कृषियोग्य जमिन २१ दशमलव ७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
यसैगरी, पहाडमा कृषक परिवार ७ दशमलव ७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९ दशमलव ४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।
कृषि गणना २०६८ मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भए पनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ । कृषि गणना २०६८ ले ८ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यका लागि ट्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषि गणना २०७८ ले यो संख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ ।
कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता संख्या १ करोड १५ लाख ८३ हजार ९ सय ५० र प्रतिकृषक परिवार कित्ता संख्या २ दशमलव ८ देखाएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो संख्या क्रमशः १ करोड २० लाख ९६ हजार ४ सय १७ र ३ दशमलव २ रहेको देखाएको थियो ।
कृषिगणना २०७८ अनुसार कृषक परिवारले १२ लाख ९ हजार २ सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४ दशमलव ५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ ।
तर, अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणनाका अनुसार सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुने देखिन्छ भने अघिल्लो कृषि गणनाले यो ६५ प्रतिशत रहेको देखाएको थियो ।
सिँचित क्षेत्रफलमध्ये १२ महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ८७९,५७० हेक्टर ७२ दशमलव ७ रहेको यो गणनाले विगतका गणनामा जस्तै यस गणनामा पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली ९२५ लाख ८६ हजार १८३ हेक्टर० भएको पाइएको छ ।
कृषिगणना २०७८ अनुसार धान बाली लागेको क्षेत्रफल १२ लाख १६ हजार ३ सय ८७ हेक्टर, मकैको क्षेत्रफल ५ लाख ५९ हजार ९ सय ९ हेक्टर र गहुँको क्षेत्रफल ६ लाख ५४ हजार १ सय ९४ हेक्टर हुन आएको देखिएको छ ।
स्थायी बालीमा बगैंचाका रूपमा लगाइएको आँपको क्षेत्रफल १९ हजार ७ सय ८१ हेक्टर, केराको क्षेत्रफल ७ हजार ८ सय ९८ हेक्टर र सुन्तलाको क्षेत्रफल ६ हजार ५ सय ४५ हेक्टर, कागतीको क्षेत्रफल २ हजार ८ सय ६ हेक्टर र स्याउको क्षेत्रफल ३ हजार ८० हेक्टर देखिएको छ ।
कृषिगणना २०७८ ले ४२ हजार आठ कृषक परिवारले ४८ हजार ७ सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीको कुल क्षेत्रफल १० हजार ३ सय ८३ हेक्टर रहेको समेत यो गणनाले औंल्याएको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS