चितवन । हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो ।
रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताए । बछौली बहुउद्देशीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको बारेमा जानकारी दिइने उनले बताए ।
संयोजक घिमिरेका अनुसार सुक्खा क्षेत्र सहन सक्ने छ जात र डुबान सहन सक्ने दुई जातका धानको बारेमा जानकारी गराइने छ । “अहिले मनसुन ढिला सुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाइँ गर्ने अवस्था छ । धान रोपाइँमा मेसिनको प्रयोग गर्नसके कृषकलाई समयका साथै आर्थिकरुपमा खर्च कम लाग्ने देखिन्छ”, उनले भने, “प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशतसम्म उत्पादन बढ्ने छ ।”
जिल्लामा अहिले पाँचवटा मेसिनबाट धान रोपाइँ हुँदै आएको छ । एक बिघा क्षेत्रफलमा धान रोप्दा पाँच हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट मेसिन फलदायी हुने संयोजक घिमिरेले बताए । जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि प्रविधिको विकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।
FACEBOOK COMMENTS