काठमाडौं । पछिल्लो समय नेपालको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको बढ्दो आकर्षणले ग्रामीण भेगहरूको अर्थतन्त्रमा उल्लेख वृद्धि भएको तथ्याङ्कले देखाएको छ । हेफर इन्टरनेशनलले नेपालद्वारा एजीसीओ एग्रिकल्चर फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले सार्वजनिक गरेको एक अध्ययनले यस्तो देखाएको हो ।
उक्त अध्ययन प्रतिवेदनका अनुसार ग्रामीण क्षेत्रको मुख्य आम्दानीको स्रोत भनेको डेरी क्षेत्र हो । दुग्ध क्षेत्रमा गरेको यो लगानीले विशेषतः विभिन्न जिल्लाहरूमा क्षेत्रीय अर्थतन्त्तलाई नै बलियो बनाएको अध्ययनले देखाएको छ । यसले जलवायुमैत्री डेरी अभ्यासले किसानको जीवनशैली रूपान्तरण गर्दै ग्रामीण अर्थतन्त्रमा उल्लेख्य सुधार गरी कृषकहरूको जीवनस्तर उकासिएको छ ।
अध्ययनका अनुसार पछिल्लो पाँच वर्षमा दूध उत्पादन, प्रतिपशु उत्पादकत्व, ग्रामीण अर्थतन्त्रमा योगदान, वातावरणीय प्रभाव न्यूनीकरण तथा महिला सशक्तीकरणमा उल्लेखनीय प्रगति भएको हो ।
पाँच वर्षमै ३८ प्रतिशतले बढ्यो दुग्ध उत्पादन
सन् २०१९ मा नेपालमा कुल दुग्ध उत्पादन २० लाख ९ हजार मेट्रिक टन थियो, जुन सन् २०२३ मा बढेर २७ लाख ७२ हजार मेट्रिक टन पुगेको छ । यो करिब ३८ प्रतिशतले भएको वृद्धि हो ।
यसमा भैंसीको दूध उत्पादन ७.९५ लाख मेट्रिक टनबाट १३.९९ लाख मेट्रिक टनमा पुगेको छ भने गाईको दूध उत्पादन १२.१४ लाख मेट्रिक टनबाट १३.७२ लाख मेट्रिक टनमा उक्लिएको छ ।
प्रतिपशु उत्पादकत्वमा दोब्बर सुधार
गाई र भैंसी दुबैको प्रतिपशु वार्षिक उत्पादकत्वमा दोब्बर सुधार आएको छ । भैंसीको उत्पादकत्व ८८० केजीबाट बढेर १,६४४ केजी पुगेको छ भने गाईको उत्पादकत्व ७३७ केजीबाट १,३२५ केजीमा पुगेको हो । यसको प्रमुख कारण उन्नत नश्ल प्रवर्द्धन, आहार सुधार, पशु स्वास्थ्य सेवामा लगानी र वैज्ञानिक व्यवस्थापन प्रणाली भएको प्रतिवेदनमा उल्लेख छ ।
डेरी अर्थतन्त्रको मुख्य मेरुदण्ड बन्दै
डेरी व्यवसायले देशको कुल गार्हस्थ्य उत्पादनमा ३–४ प्रतिशत योगदान गरिरहेको छ । पाँच लाखभन्दा बढी मानिस यो क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न छन् । हेफर इन्टरनेशनलको सहकार्यमा सञ्चालन भएका परियोजनाबाट डेरी कारोबार सन् २०२० को ५.७ अर्ब रुपैयाँबाट सन् २०२४ मा १९.५ अर्ब रुपैयाँमा पुगेको छ । सहकारी कोष पनि २.३ अर्ब रुपैयाँबाट बढेर ५.९ अर्ब पुगेको छ । हाल ४ लाखभन्दा बढी परिवार, १८ हजारभन्दा बढी स्वयम् सहायता समूह र ३०० भन्दा बढी महिला नेतृत्वका सहकारी संस्थाहरू अभियानमा सहभागी छन् ।
त्यस्तै, दाना तथा चारा उत्पादनमा आत्मनिर्भरता उन्मुख छ । १६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा ३६ प्रजातिका डालेघाँस तथा उन्नत चारा उत्पादन गरिएको छ । यसले आयातमा निर्भरता घटाउनाका साथै पोषणयुक्त आहार उपलब्ध गराउँदै उत्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याएको छ । दुई लाखभन्दा बढी गोठहरू निर्माण तथा सुधार गरिएकाले गोठमै खुवाउने (स्टाल फिडिङ) प्रणालीले गति लिएको छ ।
हरित प्रविधिको प्रयोगमा उत्साहजनक वृद्धि
डेरी फार्मिङमा जलवायुमैत्री प्रविधिहरूको प्रयोग उल्लेखनीय रूपमा बढेको छ । युरिया मोलासेस मिनरल ब्लकको प्रयोगले उत्पादनमा वृद्धि गर्नाका साथै मिथेन ग्यास उत्सर्जनमा कमी आएको छ । त्यस्तै, बायो–फर्मेन्टेड पराल, साइलेज मेसिन र सौर्य ऊर्जाबाट सञ्चालित पानी तताउने यन्त्रहरूले फार्महरूलाई ऊर्जा–कुशल बनाएका छन् ।
बायोग्यास र ऊर्जाको बचत
हालसम्म १८ हजारभन्दा बढी बायोग्यास प्लान्टहरू स्थापना गरिएका छन्, जसले पशुजन्य फोहोरलाई स्वच्छ ऊर्जामा रूपान्तरण गरी ग्रामीण परिवारलाई एलपी ग्यासमा खर्च हुने करिब दुई हजार रुपैयाँ मासिक बचत गराइरहेका छन् ।
८ वटा दुग्ध सङ्कलन सहकारीमा सौर्य ऊर्जाबाट सञ्चालित उपकरण जडान गरिएको छ, जसले दुग्ध सङ्कलन केन्द्रहरूको स्वच्छता र ऊर्जा दक्षता सुधारमा योगदान पुर्याएको छ । किसानहरूलाई जलवायुमैत्री अभ्याससम्बन्धी व्यापक तालिम प्रदान गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद कृषि तथा वन विश्वविद्यालय, आईएलआरआई जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको साझेदारीमा अनुसन्धान र प्रविधि हस्तान्तरण भएको छ ।
कार्बन सञ्चयमा उल्लेखनीय योगदान
परियोजनाहरूले हालसम्म करिब ७५ हजार मेट्रिक टन बराबर कार्बन सञ्चय गर्न मद्दत गरेका छन् । जलवायु सङ्कटसँग जुध्न कृषि क्षेत्रबाट भएको यस्तो योगदान वातावरणीय दिगोपनतर्फको सकारात्मक सङ्केत हो । ललितपुरमा आयोजित ‘क्लाइमेट स्मार्ट डेरी फार्मिङ इन नेपाल’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले ग्रामीण कृषि विगतको तुलनामा बढ्दै गएको ग्रामीण अर्थतन्त्रलाई यसले ठुलो टेवा पुगेको बताए । उनले भने, ‘एकल कृषि प्रणालीबाट मात्र सम्भव हुँदै त्यो छरिन्छ, तर ग्रामीण एकीकृत कृषि प्रणाली भयो भने त्यो सुधार हुन्छ र अन्य सम्भवनाको ढोकाहरू पनि खुल्छन् ।’
त्यस्तै, उनले आगामी दिनमा जलवायु परिवर्तन ल्याउन सक्ने नकारात्मक प्रभावको बारेमा अहिल्यैदेखि नै तयारीमा लाग्नुपर्ने बताए । उनले भने, ‘जलवायु परिवर्तनले कृषि क्षेत्र मात्र नभई समग्र क्षेत्रमा प्रभाव सिर्जना गर्न सक्ने भएकाले त्यसका लागि अहिल्यैदेखि तयारीमा लाग्नुपर्छ ।’
FACEBOOK COMMENTS