काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘कृषिमा लगानी दशकको सान्दर्भिकता र निजी क्षेत्रको भूमिका’ विषयमा बोल्दै अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको आर्थिक विकासमा चेम्बरको भूमिका अथक रहेको बताएका छन्।
कुनैबेला खाद्यान्न निर्यात गर्ने नेपाल आज घट्दो जीडीपीले कृषि क्षेत्र संकटमा पुगेको उनको भनाइ छ।
उनले भने, ‘निजी क्षेत्रको सहकार्यमा मात्र कृषिको विकास र विस्तार गर्न सकिन्छ, हामी त्यसका लागि संधै तयार छौं, परम्परागत रूपमा चल्दै आएको हाम्रो कृषि प्रणालीलाई यो दशकले परिवर्तन ल्याउन सक्छ।’
चेम्बरले आगामी कृषिको नीति कस्तो बनाउने भन्ने नीतिसहित प्रस्तुति गरेको हुँदा त्यहीअनुसार अघि बढ्न सरकारले पनि साथ दिनुपर्ने बताए।
यो कार्यक्रमको कृषिको विस्तारमा केही न केही भूमिका रहने विश्वाससमेत लिएको उनले बताए।
त्यस्तै, नेपाल चेम्बर अफ कमर्सका कृषि, जडीबुटी तथा वन्यजन्तु समितिका सभापति श्रीकृष्ण श्रेष्ठले सरकारले ल्याउने कृषिको नीति किसान र उत्पादनसँग मेल नखाएको बताए।
उनले भने, ‘वास्तविक किसानहरूको सूचीकरण हुन सकेको छैन, सीमित व्यक्तिविशेषलाई पोस्ने मात्रको नीति भएको छ।’
बाँझो जमिनलाई उत्पादनमा ल्याउनका लागि निजी क्षेत्रलाई सहुलियतमा दिन सक्ने गरी कानुनी व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।
FACEBOOK COMMENTS