काठमाडौँ । कृत्रिम बुद्धिमत्ता क्षेत्रमा ठूलो विकासका रूपमा प्रविधि कम्पनी ओपनएआईले ११० अर्ब अमेरिकी डलर बराबरको लगानी जुटाएको घोषणा गरेको छ । कम्पनीका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्याम अल्टम्यानका अनुसार अमेजन, एनभिडिया र सफ्टबैंकले संयुक्त रूपमा उक्त लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् ।
घोषणाअनुसार अमेजनले ५० अर्ब डलर, एनभिडियाले ३० अर्ब डलर र सफ्टबैंकले ३० अर्ब डलर लगानी गर्नेछन् । यस लगानीपछि ओपनएआईको कम्पनी मूल्यांकन करिब ७३० अर्ब डलर पुगेको बताइएको छ, जसले यसलाई विश्वकै सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक बनाएको छ ।
अमेजनले सुरुवाती चरणमा १५ अर्ब डलर लगानी गर्नेछ भने बाँकी रकम चरणबद्ध रूपमा थपिनेछ । दीर्घकालीन सहकार्यअन्तर्गत अमेजनको क्लाउड सेवा प्रणालीले उन्नत कृत्रिम बुद्धिमत्ता विकास र वितरणमा मुख्य भूमिका खेल्नेछ । साथै अमेजनका विभिन्न सेवाका लागि विशेष कृत्रिम बुद्धिमत्ता मोडेलसमेत विकास गरिने जनाइएको छ ।
एनभिडिया पहिले नै कृत्रिम बुद्धिमत्ता चिप र उच्च क्षमताका ग्राफिक्स प्रविधिमा अग्रणी कम्पनी मानिन्छ । ओपनएआईसँगको सहकार्य विस्तार भएपछि शक्तिशाली एआई मोडेल प्रशिक्षण, डाटा केन्द्र विस्तार तथा नयाँ पुस्ताका प्रणाली विकासमा गति आउने अपेक्षा गरिएको छ ।
यसबीच ओपनएआईले माइक्रोसफ्टसँगको पुरानो सहकार्य यथावत रहने स्पष्ट पारेको छ । नयाँ लगानी आए पनि हालको साझेदारीमा कुनै परिवर्तन नहुने कम्पनीले जनाएको छ ।

स्याम अल्टम्यानका अनुसार कृत्रिम बुद्धिमत्ता अब अनुसन्धानको चरण पार गर्दै दैनिक प्रयोगको चरणमा प्रवेश गरिसकेको छ । आगामी प्रतिस्पर्धा ती कम्पनीबीच हुने बताइएको छ, जसले छिटो पूर्वाधार विस्तार गर्दै सुरक्षित र उपयोगी एआई सेवा विकास गर्न सक्नेछन् ।

FACEBOOK COMMENTS