एजेन्सी । यौन दुर्व्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानूनको घोषणा गरेको छ ।
‘एआईको दुरूपयोग गरी बाल यौन दुव्र्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ । बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैरकानुनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरले बताए ।
उनका अनुसार मानिसहरूलाई बच्चाहरूलाई यौन दुव्र्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्म जेल सजाय हुन सक्छ।
गृहमन्त्री कूपरले आइतबार स्काई न्यूजसँग भने, “अनलाइन बाल यौन दुव्र्यवहार सामग्री बढ्दो छ । किशोर किशारीहरूलाई अनलाइनमार्फत् एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ। यो वास्तवमा एक दुःखद कुरा हो । एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ।”
उनले भने, “एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुव्र्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्।”
“नयाँ कानूनले ‘बाल दुव्र्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ,” कूपरले भन्नुभयो ।
एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुव्र्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ । नयाँ कानूनले ‘अन्य पीडोफाइल’हरूको लागि डिजाइन गरिएको वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ ।
कुपरले आइतबार बीबीसीसँग भने, “हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुव्र्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ। यी उपायहरूलाई संसदमा ‘क्राइम एण्ड पोलिसिङ बिल’को एक भागको रूपमा प्रस्तुत गरिनेछ ।
FACEBOOK COMMENTS