काठमाडौँ । अस्ट्रेलियाले अब केवल सामाजिक सञ्जाललाई मात्र नभई च्याटजीपीटी जस्ता कृत्रिम बुद्धिमत्ता (एआई) टुलमा पनि कडा नियन्त्रण लागू गर्ने तयारी गरेको छ । अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई हानिकारक सामग्रीबाट सुरक्षित राख्न नसके, कम्पनीमाथि कडा कानुनी कारबाही गरिने बताएको छ ।
नियम अनुसार, ९ मार्च २०२६ देखि अस्ट्रेलियामा काम गर्ने सबै अनलाइन सेवाहरूले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई अश्लील, अत्यधिक हिंसात्मक, आत्महत्या वा खाने व्यवहारसँग सम्बन्धित सामग्रीबाट रोक्नुपर्नेछ । नियामकले गूगल, एपल जस्ता एप स्टोर र सर्च इञ्जिनहरूलाई समेत यसमा जिम्मेवार बनाएको छ । यदि कुनै कम्पनी वा प्लेटफर्मले नियम उल्लङ्घन गर्यो भने ४.९५ करोड अस्ट्रेलियाली डलर (लगभग ४३२ करोड नेपाली रुपैयाँ) सम्मको जरिवाना लाग्न सक्नेछ ।
दुनियाका ५० लोकप्रिय एआई प्लेटफर्महरूको जाँच गर्दा मात्र ९ ले उमेर प्रमाणिकरण प्रणाली लागू गरेका छन् । ११ ले सामग्री फिल्टर लागू गर्ने वा अस्ट्रेलियामा सेवा बन्द गर्ने योजना बनाएका छन् भने ३० प्लेटफर्मले अहिलेसम्म कुनै ठोस सुरक्षा उपाय अपनाएका छैनन् । यद्यपि, च्याटजिपिटी, रेप्लिका र क्लाउड जस्ता प्लेटफर्मले उमेर जाँच र कडा फिल्टर लागू गर्न थालेका छन् । च्यारेक्टर एआईले १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको च्याट सीमित गरेको छ ।
एपलले पनि नयाँ उपाय अघि सारेको छ । २४ फेब्रुअरी २०२६ देखि अस्ट्रेलियामा एडल्ट रेटेड एप्स केवल उमेर प्रमाणित प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्ने व्यवस्था गरेको छ ।
अस्ट्रेलियाले यसअघि १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइसकेको छ । हालसम्म च्याटबोटसँग सम्बन्धित हिंसात्मक घटना रिपोर्ट नआए पनि, प्रतिवेदन अनुसार १० वर्षसम्मका बालबालिकाले दैनिक छ घण्टा एआई टूल्स प्रयोग गरिरहेका छन् । अधिकारीहरूले एआई कम्पनीहरूले मानव भावनासँग खेल्ने प्रविधि प्रयोग गरिरहेको चेतावनी दिएका छन्, जसले बालबालिकालाई डिजिटल जालमा फसाइरहेको उनीहरुको आरोप छ ।

अस्ट्रेलियाको यो कदम विश्वकै सबैभन्दा कडा एआई नियमन प्रयासका रूपमा हेरिएको छ । विशेषज्ञहरूका अनुसार, आगामी समयमा अन्य देशहरूले पनि यसै प्रकारका नियम लागू गर्न सक्ने सम्भावना रहेको छ ।

FACEBOOK COMMENTS