काठमाडौं । गत जुन १२ मा अहमदाबादमा दुर्घटनाग्रस्त एअर इण्डियाको विमानका दुई पाइलटहरूबीचको अन्तिम कुराकानीको सम्बन्धमा एउटा नयाँ दाबी बाहिर आएको छ । अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले विमानका क्याप्टेन सुमित सभरवालले इन्जिनमा इन्धन आपूर्ति बन्द गरेको रिपोर्ट गरेको छ ।
जर्नलले दुई पाइलटहरूबीचको कुराकानीको ककपिट रेकर्डिङबाट यो खुलासा भएको उल्लेख गरेको छ । आवाज रेकर्डिङमा बोइङ विमान उडाइरहेका सह–पाइलट क्लाइभ कुन्दरले क्याप्टेन सुमित सभरवाललाई सोधेका थिए, ‘तपाईंले इन्धन स्विचलाई ‘कटअफ’ किन गर्नुभयो ?’
रिपोर्टमा भनिएअनुसार प्रश्न सोध्दा सह–पाइलट छक्क परेका थिए । उनको आवाजमा त्रास थियो, जबकि क्याप्टेन सुमित शान्त देखिन्थे । क्याप्टेन सुमित सभरवाल एअर इण्डियाको विमानका वरिष्ठ पाइलट थिए । उनीसँग १५,६३८ घण्टा उडान अनुभव थियो र सह–पाइलट क्लाइभ कुन्दरसँग ३,४०३ घण्टा उडान अनुभव थियो ।
आफ्नो रिपोर्टमा वाल स्ट्रिट जर्नलले विमान दुर्घटनाको अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरूको प्रारम्भिक अनुसन्धानसँग परिचित व्यक्तिहरूलाई उद्धृत गरेको छ । यस रिपोर्टमा भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो, नागरिक उड्डयन महानिर्देशनालय, नागरिक उड्डयन मन्त्रालय, बोइङ वा एअर इण्डियाबाट कुनै प्रतिक्रिया आएको छैन ।
यसअघि विमान दुर्घटना अनुसन्धान ब्यूरोले जुलाई १२ मा विमान दुर्घटनाको बारेमा आफ्नो प्रारम्भिक अनुसन्धान प्रतिवेदन जारी गरेको थियो । इन्धन स्विचहरू अचानक ‘रन’ बाट ‘कटअफ’ स्थितिमा सरेको बताइएको थियो, जसका कारण दुवै इञ्जिनहरू बन्द भएका थिए ।
यद्यपि, रिपोर्टले इन्धन स्विचहरू कसरी बन्द गरियो भनेर बताएको छैन । ब्यूरोले भनेको थियो, ‘ककपिट भ्वाइस रेकर्डरमा एक पाइलटले अर्कोलाई इन्धन किन बन्द गर्यो भनेर सोधेको सुनिएको थियो । अर्को पाइलटले जवाफ दिए कि उनले त्यसो गरेनन् ।’
यसैबीच, एअर इण्डियाले आफ्ना सबै बोइङ–७८७ सिरिजका विमानहरूको इन्धन नियन्त्रण स्विचको लकिङ सुविधाको अनुसन्धान पूरा भएको जानकारी दिएको छ । आफ्ना पाइलटहरूलाई पठाइएको सन्देशमा एअरलाइन कम्पनीले अनुसन्धानको क्रममा इन्धन स्विचमा कुनै गल्ती फेला नपरेको बताएको छ ।
कम्पनीले सबै बोइङ–७८७ विमानहरूमा थ्रोटल नियन्त्रण मोड्युल पनि बदलेको छ । इन्धन नियन्त्रण स्विचको एक महत्त्वपूर्ण भाग हो । जुलाई १४ मा नागरिक उड्डयन महानिर्देशनालयले सबै एअरलाइन्सलाई जुलाई २१ सम्ममा सबै बोइङ–७३७ र ७८७ सिरिजका विमानहरूमा इन्धन स्विच जाँच गर्न निर्देशन दिएको थियो । एअर इण्डियासँग जम्मा ३३ वटा बोइङ–७८७ ड्रीमलाइनर विमान छन् ।
FACEBOOK COMMENTS