काठमाडौं । भारतको अहमदाबादमा भएको एअर इण्डियाको जहाज दुर्घटनामा जहाजमा सवार सबै २४२ जनाकै मृत्यु भएको प्रहरीले पुष्टि गरेको भारतीय सञ्चारमाध्यम इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
भारतीय समयअनुसार आज दिउँसो ३ बजेर ३८ मिनेटमा अहमदाबादबाट उडेको केही समयपछि नै एअर इण्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानमा २४२ जना सवार थिए, जसमा २ जना पाइलट र १० जना क्याबिन क्रू सदस्य समावेश थिए । यात्रीहरूमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानडाली नागरिक थिए । साँझ प्रहरीले विमानमा सवार सबै २४२ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनाले ‘सबैलाई स्तम्भित र दुःखी बनाएको’ बताएका छन् । अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल (एसबीपीआईए) तत्लकालका लागि बन्द गरिएको छ ।
प्रादेशिक अधिकारीहरूले विमानले उडान अनुमति पाएको लगभग ९ मिनेटपछि दुर्घटना भएको बताएका छन् । घटनास्थलमा खटिएका अधिकारीहरूले बाक्लो धुवाँले उद्धार कार्यमा चुनौती भएको बताएका छन् ।
एअर इण्डियाले अहमदाबाददेखि लण्डन ग्याटविक जाँदै गरेको फ्लाइट एआई१७१ आज दुर्घटनाग्रस्त भएको जनाउँदै विस्तृत विवरण सङ्कलन भइरहेको र चाँडै नै अद्यावधिक जानकारी दिने बताएको छ ।
याे पनि :
तस्बिरहरूमा हेर्नुहोस् एअर इण्डियाको जहाज दुर्घटना
FACEBOOK COMMENTS