काठमाडौं । वायु प्रदूषणको समस्या बर्सेनि बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषणबाट विशेषगरी काठमाडौं उपत्यकाबासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभई विश्वमा तीव्र रूपमा बढिरहेको विज्ञहरू बताउँछन् ।
काठमाडौंमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्दप्रसाद लामिछाने बताउँछन् । पानी पर्दा वायुमण्डलमा भएको प्रदूषण पखालिन्छ । तर, जाडोमा पानी कम पर्ने र अन्य कारणले वायु प्रदूषण बढ्छ ।
खासगरी वायु प्रदूषण हिउँदयाममा बढ्ने गरेको उनको भनाइ छ । उनले विशेषगरी कार्तिकपछि वायु प्रदूषण बढ्न थालेको बताए ।
उनले प्रदूषण चिसोले गर्दा पुस-माघसम्म धेरै हुने गरेको बताए । साथै चैत-वैशाखमा समेत आगलागीका घटना र वन डढेलोका कारण पनि वायु प्रदूषण बढ्दै जाने बताए । खासगरी काठमाडौंमा दसैंपछि र तिहारभन्दा केही अगाडिबाट वायु प्रदूषण बढ्न थालेको बताए । उनले शनिबार र बिदाको समयमा वायु प्रदूषण केही घट्ने गरेको बताए ।
उनले भने, ‘विशेषगरी वायु प्रदूषण हिउँदयाममा बढ्छ । कार्तिकपछि बढ्न थालेको छ । पुस-माघसम्म चिसोले गर्दा वायु प्रदुषण बढ्छ । फेरि चैत–वैशाखमा आगलागीका घटनाहरू र वन क्षेत्रमा लाग्ने डढेलोलगायतका घटनाहरूले पनि चैत-वैशाखमा प्रदूषण उच्च हुने जोखिम हुन्छ ।’
यसैगरी, पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदूषण कम हुने गरेको उनको भनाइ छ । मुख्यतया शहरी क्षेत्र काठमाडौं र त्यसबाहेक ठूलाठूला शहरहरू पोखरा र तराईमा बढी प्रदूषण हुने गरेको उनले बताए ।
उनले भने, ‘पानी पर्न थालेपछि मनसुनको समयमा वायु प्रदूषण कम हुने गर्छ । मुख्यतया नेपालको सन्दर्भमा शहरी क्षेत्र काठमाडौं उपत्यका भइनै हाल्यो, त्यसबाहेक ठूलाठूला शहरहरू पोखरा र तराई बढी प्रदूषण हुने क्षेत्रमा पर्छन् । पश्चिम तराईको तुलनामा पूर्वको तराईमा प्रदूषण अझ बढी हुने गरेको विगतका तथ्यांकहरूले देखाएको छ ।’
साथै एक्यूआईको स्केल शून्यदेखि पाँच सयसम्म हुन्छ । जसमा शून्यदेखि ५० सम्म एक्यूआई छ भने त्यो वातावरणका लागि राम्रो मनिने तथा ५० देखि एक सयको एक्यूआई मध्यमस्तरको मनिन्छ । साथै एक सयभन्दा माथि जति पनि बढ्दै जान्छ त्यति नै प्रदूषणको तह उच्च हुँदै जाने बताए । एक सयदेखि १५० को एक्यूआई संवेदनशील वर्गका लागि हानिकारक मनिन्छ । तीन सयभन्दा माथि एक्यूआई गयो भने त्यो अवस्था खतरनाक नै मानिने उनको भनाइ छ ।
उनले देशभर २९ ठाउँमा वायु गुणस्तर मापन केन्द्रहरू रहेको बताए । काठमाडौंसहित धुलिखेलमा समेत वायु प्रदूषण मापन केन्द्रहरू रहेका छन् । साथै उनले देशका विभिन्न ठाउँहरूमा रहेका वायु प्रदूषण गुणस्तर मापन केन्द्रहरूबाट तथ्यांकहरू लिने गरिएको बताए ।
वायु प्रदूषणको तथ्यांक घण्टा-घण्टामा नै परिवर्तन भइरहेको हुन्छ । मसिनो धुलोका कणहरूले पनि काठमाडौं उपत्यका सबैभन्दा बढी वायु प्रदूषण शहरको नाममा रहेको पाइन्छ ।
उनले भने, ‘काठमाडौंमा आर्थिक कारोबार र सवारी चाप बढी हुन्छ, त्यही कारणले पनि वायु प्रदूषण बढ्ने गर्छ । यहाँ यातायातका साधनहरू धेरै छन् । मुख्यतया यातायातका साधनहरू नै वायु प्रदूषणका मुख्य कारण हुन् । बाहिरबाट आउने वायु प्रदूषण पनि हुन्छ । जस्तैः यस वर्षको वायु प्रदूषण नै हेर्ने हो भने काठमाडौंबाहिर तराई क्षेत्रबाट र नयाँ दिल्लीबाट समेत काठमाडौंमा वायु प्रदूषणको असर परिरहेको हुन्छ ।’
उनले काठमाडौं उपत्यका कचौरा आकारको भएकाले पनि चिसो बढेसँगै उपत्यकाको हावा सजिलै बाहिर जान नपाउने र उत्सर्जन नहुने भएकाले उपत्यकामा बढी वायु प्रदूषणको जोखिम हुने गरेको बताए ।
साथै उनले बाहिरको वायु प्रदूषण कम गर्न सवारी साधनको प्रणालीमै सुधार गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगको सही तरिकाले व्यवस्थापन गर्नुपर्छ । फोहर व्यवस्थापनको कुरा पनि मुख्य रूपमा आउँछ । धुलो-धुवाँ बढी हुन्छ र वायु पदूषण बढाउँछ । ’
लामिछानेले वायु प्रदूषणले गर्दा मानव स्वास्थ्यमा धेरै असर पर्ने बताए । उनले श्वासप्रश्वाससम्बन्धी रोगहरू र मुटुसम्बन्धी रोगहरूको मुख्य कारण नै वायु प्रदूषण भएको बताए । उनले वृद्घ आमाबुवा, बच्चाहरू तथा मुटुका रोगीहरूलाई वायु प्रदूषणले धेरै असर पार्ने गरेको बताए ।
वायु प्रदूषण न्यूनीकरण गर्न सरकारी निकायको महत्त्वपूर्ण भूमिका रहने उनले बताए । साथै उनले सबैलाई सचेत भएर सावधानीका उपायहरू अपनाउनसमेत आग्रह गरे । वायु प्रदूषण उच्च भएको समयमा सधैं मास्क लगाउनुका साथै खतरनाक अवस्थामा नै वायु प्रदूषण भएको छ भने सकेसम्म घरमै बस्नुपर्ने उनको सुझाव छ ।
उनले वायु प्रदूषण कम गर्नका लागि सरकारले मात्रै चाहेर केही गर्न नसकिने बताए । त्यसैले वायु प्रदूषण भइसकेपछि घटाउने भन्दा पनि प्रदूषण हुनै नदिने तर्फ सोच्नुपर्ने समय आएको उनको भनाइ छ ।
उनले वायु प्रदूषण कम गर्नका लागि सरकार सँगसँगै आम जनता, स्वास्थ्यकर्मी, मिडियाकर्मी, विभिन्न एनजीओ/आईएनजीओले आ-आफ्नो तर्फबाट सक्दो पहल गर्न लाग्नुपर्ने बताए ।
जस्तैः केही वस्तु जलाउँदा निस्किने धुवाँले प्रदूषण बढाउँछ भने फोहरजन्य पदार्थ नजलाउने, हामीले चलाउने यातायातका साधन समय-समयमा मर्मत गर्ने, वनजंगलमा आगो नलगाउने, सकेसम्म आफ्नो घरवरपर हरियाली वातावरण बनाउने कुराहरूमा सबैले ध्यान दिने हो भने केही हदसम्म वायु प्रदूषण कम गर्न सकिने उनको भनाइ छ । -नेपाल न्युज बैंक
FACEBOOK COMMENTS