काठमाडौैं । भुटान र अस्ट्रेलियाले दुई देशलाई जोड्ने हवाई सेवा सञ्चालनसम्बन्धी अवधारणापत्रमा हस्ताक्षर गरेका छन् ।
भुटानको विदेश मन्त्रालयका अनुसार विदेश सचिव पेमा लेक्तुब दोर्जीको नेतृत्वमा गएको भुटानी शिष्टमण्डलले उक्त सम्झौता गरेको हो ।
सम्झौतामा कहिलेदेखि र कुन–कुन रुटमा हवाई सेवा सञ्चालन हुने भन्नेबारे खुलाइएको छैन । तर, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २५औँ वर्षगाँठका अवसरमा उक्त सम्झौता भएको बताइएको छ ।
भुटानको कुल जनसङ्ख्याको १.५ प्रतिशत अस्ट्रेलियामा रहेको बताइन्छ । भुटानबाट निष्कासित नेपालीभाषी समुदायका एक हिस्साका सदस्य पनि तेस्रो देशमा पुनर्वासका क्रममा अस्ट्रेलिया पुगेका छन् । उनीहरूमध्ये हजारौँ अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता सन् २०१९ मा भएको थियो । तर, अस्ट्रेलियाका कुन–कुन विमानस्थलमा कति सिट क्षमताका उडान सञ्चालन गर्न पाउने भन्नेबारे विस्तृत सम्झौता भने अझै भएको छैन ।
