काठमाडौँ । नेपालमा एरोस्पेस तथा उड्डयन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित विश्वप्रसिद्ध एरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
सहकार्यले शैक्षिक विकास, अनुसन्धान, तालिम, उद्योग अनुभव तथा एरोस्पेस प्रविधिसम्बन्धी संयुक्त पहललाई प्राथमिकता दिने जनाइएको छ। समझदारीपत्रमा एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक जुर्गेन वेस्टरमेयरर त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा सुशील बहादुर बज्राचार्य ले बिहीबार हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर कार्यक्रममा नेपालका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभल को उपस्थिति रहेको थियो। कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा एयरबसका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको जनाइएको छ।
समझदारीपत्र हस्ताक्षरपछि एयरबस साउथ एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक वेस्टरमेयरले बलियो एरोस्पेस इकोसिस्टम निर्माणका लागि दक्ष जनशक्ति विकास अपरिहार्य रहेको बताए। उनले त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीमार्फत एयरबसको विश्वव्यापी विशेषज्ञता उपयोग गर्दै एरोस्पेस इन्जिनियरिङ र डिजिटल प्रविधि क्षेत्रमा तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति बज्राचार्यले एयरबस जस्तो विश्वव्यापी कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रमलाई थप आधुनिक र व्यावहारिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले यसले नेपालको उड्डयन तथा एरोस्पेस क्षेत्रको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए।

समझदारीपत्रअनुसार दुवै संस्थाले एरोस्पेस र उड्डयनसँग सम्बन्धित वैज्ञानिक, प्राविधिक तथा व्यवस्थापकीय विषयमा अनुसन्धान, शिक्षण र तालिमका कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, एरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधि—विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ (एमएल), एड्भान्स्ड एनालिटिक्स र साइबर सुरक्षासम्बन्धी शैक्षिक पाठ्यक्रम विकासमा समेत सहकार्य गरिनेछ।

यसका अतिरिक्त एयरबसका विशेषज्ञहरूमार्फत उद्योग अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय संस्थाहरूसँग साझेदारी विस्तार, विद्यार्थीका लागि इन्टर्नसिप तथा रोजगारीका अवसर सिर्जना, साथै अनुसन्धानमूलक सेमिनार, प्राविधिक महोत्सव, सम्मेलन र कार्यशालाजस्ता कार्यक्रम सञ्चालनको सम्भावनाबारे पनि दुवै पक्षले संयुक्त रूपमा काम गर्ने जनाइएको छ।