काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरेका हुन् ।
प्रधानमन्त्री ओलीसँग मुलुकको समग्र हवाई क्षेत्रका समसामयिक विषयमा कुराकानी भएको वायुसेवा सञ्चालन सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिए । “हवाई क्षेत्रका समसामयिक गतिविधिबारे प्रधानमन्त्रीले जानकारी लिनुभयो । सञ्चालकका तर्फबाट विद्यमान समस्या र समाधानका उपायबारे सकारात्मक छलफल भएको छ”, उनले भने ।
प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिए । यस क्षेत्रमा देखिएका समस्याको समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरे । साथै उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो जनाउँदै यसलाई कसरी हटाउन सकिन्छ भनेर जिज्ञाशा राखे । यस्तै युरोपेली सङ्घ ९इयू०को कालो सूचीबाट नेपाललाई हटाउनका लागि पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले पहल गरिरहेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढेको जानकारी दिए । उनले हवाई क्षेत्रको नीति र संरचनागत सुधारका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
FACEBOOK COMMENTS