काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बढी प्रभावित उड्डयन क्षेत्रले विस्तारै गति लिँदै गर्दा निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरू थप जहाजका साथसाथै गन्तव्य विस्तारमा पनि अग्रसर देखिन थालेका छन् ।
बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरका साथसाथै आफ्नै ब्रान्ड फर्किएको गुण एयरलाइन्सले समेत जहाज थप्ने र नयाँ गन्तव्यमा उडान गर्ने तयारी गरेका छन् ।
कोरोना भाइरस संक्रमण उच्च हुँदा आन्तरिक उडानसमेत बन्द गरिएको र यो अवधिमा निजी वायुसेवा कम्पनीले रू। २५ अर्ब बराबरको आम्दानी गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर, कोरोना भाइरसको संक्रमण कम हुँदै आएपछि उड्डयन क्षेत्रले गति लिन थालेको छ ।
हवाई क्षेत्रले गति लिन थालेपछि निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले जहाज ल्याउने योजना अघि बढाएका छन् । शनिवार मात्रै श्री एयरलाइन्सले एउटा जहाज ल्याएको छ । उक्त कम्पनीका प्रवक्ता अनिल मानन्धरले जहाज ल्याएपछि नयाँ गन्तव्य सुर्खेत, तुम्लिङटार र भरतपुरमा उडान गरिने जानकारी दिए । शनिवार राति टर्बोप्रोप जहाज नेपाल ल्याइसकेको र अर्को जहाज जनवरी महीनाभित्र आइपुग्ने जानकारी उनले दिए ।
अहिले जहाजको संख्या कम भएको र बजारमा माग पनि बढेको हुँदा जहाज थपिएको उनको भनाइ छ । हवाई सेवामा दोस्रो बजार अंश ओगटेको यति एयरलाइन्सले पनि सन् २०२२ अर्थात् अबको १ वर्षभित्र ४ ओटा जहाज थप्ने तयारी गरेको छ ।
यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अबको ४र५ महीनाभित्र दुईओटा जहाज ल्याउने र १ वर्षभित्रमा थप २ गरी चारओटा जहाज किन्ने तयारी गरिएको जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS