काठमाडौं । वायुसेवा संचालक संघ नेपालले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधनले नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।
संघले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दु:ख व्यक्त गरेको छ ।
पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा निम्स पुर्जासहित ५ नेपालीका साथै अमेरिका, ओमान, चीन, पाकिस्तान र बेलायतका आरोहीको असामयिक निधन भएको छ। संघले यस घटनाले सम्पूर्ण पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको जनाएको छ।
मुस्ताङ हेलिकप्टर प्रालिका अध्यक्षसमेत रहेका पुर्जालाई नेपालको गौरवशाली व्यक्तित्वका रूपमा स्मरण गरेको छ। म्याग्दीको दाना गाउँमा जन्मिएका उनले साहस, अनुशासन र कठोर मेहनतका बलमा विश्व पर्वतारोहणमा नेपालको पहिचान उचो बनाएको संघको भनाइ छ।
निम्स पुर्जाले ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। उनले पर्वतारोहणका पुराना मान्यता तोड्दै नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्याएको संघले जनाएको छ।
संघले पुर्जाको सैन्य जीवन र अन्तर्राष्ट्रिय सम्मानको पनि स्मरण गरेको छ। असाधारण सैन्य योगदानका लागि उनले सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयबाट ‘एमबीई’ सम्मान तथा बेलायतको इस्टलेइ बरो काउन्सिलबाट ‘अनररी फ्रिडम अफ द बरो’ सम्मान प्राप्त गरेका थिए।