काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण ९नेभिगेसन इक्विपमेन्ट० जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण गर्न एरोथाईको टोली नेपाल आइसकेको छ ।
कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने उक्त नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडित जहाजसहितको टोली बुधबार भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ । उक्त टोलीमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिक छन् ।
भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाईको टोलीले बिहीबार गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ । प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दा देशभरका अन्य विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान हुन लागेको उनले बताए ।
उनले भने, “एरोथाईको टोलीले बुधबार भैरहवामा यान्त्रिक उडान गरेर एयर ट्राफिक कन्ट्रोलर, टावर, धावन मार्ग र विमानस्थलमा जडान भएका बत्ती, सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ ।”बिहीबार भैरहवामा परीक्षण उडान गरेर उक्त टोलीले शुक्रबार नेपालगञ्ज विमानस्थलमा परीक्षण उडान गर्ने तयारी रहेको उनले बताए ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यस पटक पूर्वको भद्रपुर विमानस्थलदेखि पश्चिमको धनगढी विमानस्थलमा यान्त्रिक उडान हुन लागेको हो । गत आइतबार नै काठमाडौँ आइपुगेको एरोथाईको प्राविधिक उपकरण जडित जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारलगायतका क्षेत्रको यान्त्रिक परीक्षण गरेर भैरहवातर्फ लागेको उनले बताए ।
यस पटक काठमाडौँ, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुन लागेको उनको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS