काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका विषयमा छानबिन गर्न दुई संसदीय उपसमिति गठन भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले दुबै विमानस्थल निर्माण गर्दा आर्थिक अनियमितता भएको भन्दै छानबिन गरी रायसहितको प्रतिवेदन पेश गर्न उपसमिति गठन गरेको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङदेनको संयोजकत्वमा १२ सदस्यीय समिति गठन भएको छ ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसमबन्धी छानबिन गर्न एमाले सचिव तथा सांसद योगेश भट्टराईको संयोजकत्वमा ८ सदस्यीय उपसमिति गठन भएको हो । ।
दुबै उपसमितिलाई अधिकतम महिना दिन भित्र प्रतिवेदन पेश गर्न समय दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले बताए ।
पोखरा विमानस्थल निर्माणसम्बन्धी लिङदेनको संयोजकत्वमा गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, तेजुलाल चौधरी, दिपक गिरी, देवप्रसाद तिमल्सिना, प्रेमबहादुर आले, रामकृष्ण यादव, रुक्मणी राना बराइली र लेखनाथ दाहाल सदस्य छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन गर्न भट्टराईको संयोजकत्वमा अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, बिक्रम पाण्डे, मञ्जु खाँण, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी छन् ।
FACEBOOK COMMENTS