काठमाडौं । भिजिट भिसा प्रकरणमा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएको छ । भट्टराईको हकमा ७९ लाख ८० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।
अध्यागमन अधिकृत यज्ञराज अर्यालको हकमा ८ लाख रुपैयाँ, ग्रिनलाइन होलिडे प्रालिका सञ्चालक बालकृष्ण खड्काको हकमा ३० लाख २० हजार रुपैयाँ, फेमेली होलिडे ट्राभन्लस एण्ड टूरको हकमा दीपक भण्डारीको १० लाख ६० हजार रुपैयाँ, ग्रिनलाइन होलिडेका अर्को सञ्चालक राम खड्काको हकमा ३० लाख २० हजार, सिआइएस बानेश्वरकी कविता पौडेलको हकमा ७९ लाख ८० हजार र खेमप्रसाद सुवेदीको हकमा ७९ लाख ८० रुपैयाँ बिगो कायम भएको छ ।
सर्वोच्चका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार भिजिट भिसामा २५७ जनालाई विदेश पठाउने भनेर सेटिङमा घुस रिसवत लिएको आरोप पत्रमा उल्लेख छ । साथै तीन जनाको हकमा सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ । शुद्धीकरणतर्फ सहसचिव भट्टराई, कविता पौडेल र खेमराज सुवेदीविरुद्ध मुद्दा छ । यसमा तीन जनामाथि एक करोड ३ लाख ७९ हजार ६ सय बिगो कायम गरिएको छ ।
FACEBOOK COMMENTS