काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई यथार्थ सूचना दिन र उडानमा ढिलाई नगर्न नागरिक उड्डयन कार्यालयले निर्देशन दिएको छ ।
हाल विमानस्थलमा यात्रुले उडानबारे यथार्थ सूचना नपाउने, उडानमा हुने ढिलाईले यात्रुलाई समस्या परेको भन्दै उक्त निर्देशन दिएको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनपछि कार्यालयले यस्तो निर्देशन दिएको हो ।
विमानस्थलबाटै ब्यागेज तोडफोड, चोरीका गुनासो आउन नदिन सुपरभाइजरको कार्य प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुशन गोप्रो क्यामेराको व्यवस्था गर्ने निर्देशन दिइएको छ ।
यस्तै कर्मचारीलाई खल्ती रहित पोशाकको व्यवस्था लागु गरी थप प्रभावकारी र गुनासो रहित सेवाका लागि निगमले प्रबन्ध मिलाउने निर्णय गरेको कार्यालयले जनाएको छ । आगमन क्षेत्रमा ट्राभलेटरमा यात्रु जान मिल्ने तर ट्रली साथमा भएमा लिफ्टबाट मात्र लैजाने गरी व्यवस्था मिलाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विमानस्थल आगमनबाट बाहिर निस्कने स्थानमा आइएम्एस् प्रालिले थप्नु पर्ने लिफ्टको कार्यका सन्दर्भमा सिभिल निर्माण कार्य सुरु भइसकेको र १२ ट्रली अट्ने मोडलको लिफ्ट खरिदका लागि एलसी खोली सकेकाले ३ महिना भित्र विदेशबाट उपकरण डेलिभरी भई जडान कार्य समेत सम्पन्न हुने छ।
FACEBOOK COMMENTS