काठमाडौं । पोखरा महानगरपालिकाको नगर कार्यालयमा कार्यरत सब–इन्जिनियररसहित २ जनालाई सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब –इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरूले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउनका लागि सेवाग्राहीसँग घुसबापत १ लाख ५० हजार रूपैयाँ मागेको सूचनापछि अख्तियारको टोली परिचालित भएको थियो ।
उक्त टोलीले इन्जिनियर रोकायलाई पोखरा महानगरपालिका ५ बाट र कन्सल्टेन्सीका कुँवरलाई पोखरा महानगरपालिका ८ बाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले एक विज्ञप्ती जारी गर्दैै जानकारी दिए ।
उनीहरू घुस लिइसकेको अवस्थामा घुस रकमसहित पक्राउ परेको प्रवक्ता घिमिरेले जानकारी दिए । पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
FACEBOOK COMMENTS