काठमाडौं । सहिद अनिष पराजुलीका पुत्र नेल्सन पराजुलीलाई लक्षित गर्दै गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले दिएको मर्मस्पर्शी सन्देशले सामाजिक सञ्जालमा ध्यान आकर्षित गरेको छ । सरस्वती पूजाको शुभ अवसरमा अक्षरारम्भ गरेका नेल्सनका लागि अक्षयले व्यक्त गरेको भावना माया, साथ र प्रेरणाले भरिएको छ ।
काठमाडौं यूरो स्कुल, बानियाटारमा अध्ययनरत दुई वर्षीय नेल्सनले औपचारिक रूपमा शिक्षाको यात्रा सुरु गरेका छन् । यही अवसरमा अक्षय गोल्याण स्वयं विद्यालय पुगेर नेल्सनसँग सहभागी भएका थिए । उनले सामाजिक सञ्जालमार्फत नेल्सनसँगको भिडियो सार्वजनिक गर्दै लेखेका शब्दहरू केवल शुभेच्छा मात्र नभई भविष्यप्रतिको भरोसा र साथको प्रतिबद्धता बनेका छन् ।
‘प्रिय नेल्सन, आफूलाई आकाशमा सीमित नगर्नुहोस्, त्यसभन्दा बाहिरको सपना देख्नुहोस्,’ अक्षयको सन्देशले सानो उमेरमै ठूलो प्रेरणा दिएको छ । जेनजी आन्दोलनका सहिद अनिष पराजुलीका छोरा नेल्सन र उनका दाजु निकोलशले बुवाको अभाव खेपिरहे पनि उनीहरूको भविष्य उज्यालो बनाउने प्रयासमा गोल्याण ग्रुप अग्रसर देखिएको छ ।
गोल्याण ग्रुपले सहिद परिवारका २४ जना बालबालिकालाई कक्षा १२ सम्म पूर्ण शैक्षिकवृत्ति प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यही क्रममा सरस्वती पूजाको दिन नेल्सनसँगै पोखरामा एनिक गुरुङ र सिराहामा विवान्सी चौधरीले पनि अक्षरारम्भ गरेका थिए ।
अक्षय गोल्याणले सन्देशमार्फत नेल्सनलाई कहिल्यै एक्लो नहुने विश्वास दिलाउँदै उनका सपना पूरा गर्न सधैं साथमा रहने वाचा गरेका छन् । सहिदका सन्तानको शिक्षामा जिम्मेवारी लिँदै आएको गोल्याण ग्रुपको यो पहल सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरणका रूपमा हेरिएको छ ।

FACEBOOK COMMENTS